इलाम । इलामको माईजोगमाई गाँउपालिका वार्ड नम्बर छ प्याङ निवासी ८८ वर्षिय उमाकान्त अधिकारीले प्याङ माध्यमिक विद्यालयको खेलमैदानलाई निःशुल्क जग्गा हस्तान्तरण गरेका छन् ।

खेलमैदानले ओगटेको चार रोपनी करिब तीन लाख पचास हजार बराबरको जग्गा मालपोत कार्यालय इलामबाट विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद थेबेलाई विद्यालयको नाममा जग्गा हस्तान्तरण गरेको मालपोत कार्यालय इलामले जनाएको छ ।

लामो समयदेखि विद्यालयले सोही खेलमैदान प्रयोग गर्दै आएको र अधिकांश जग्गा अधिकारीकै रहेकाले विद्यालयको नाममा नामसारी गरेका बताउछन् । खेलमैदान रहेको जग्गा विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गर्दै समाजसेवी अधिकारी भन्छन् “आफू मरेर गए पनि नाम सधैँभरि आउँछ यो उमेरमा जग्गा दिन पाएँ खुशी भएको छु ।” उक्त खेलमैदानमा महाशिवरात्रीको अवसरमा अन्तर वडास्तरीय खेल प्रतियोगिता समेत हुने गर्दछ ।