बेलबारी । मोरङको केराबारी ९ स्थित लक्ष्मी माध्यमिक विद्यालयका छात्राहरुमा डराउने,रुने, चिच्याउने जस्ता अस्वभाविक लक्षण देखिए विद्यालय २ दिन सम्मका लागि बन्द गरिएको छ । करिब एक साता देखि छात्राहरु एक्कासी लड्ने वेहोस हुने गरेपछि शिक्षक तथा स्थानीय वासिन्दाहरु पनि आश्चार्यमा परेका छन् । मंगलवारका दिन यस्तो लक्षण कम देखिएता पनि बुधवार भने ९ जना विद्यार्थीहरुलाई यस्तो लक्षण देखिएका छन् । बुधवार देखि चिच्याउने, वेहोसमा रुने गरेका छन् । शुरुमा छात्राहरु एकोहोरो हेर्ने त्यसपछि लड्ने गरेका छन् । शुरुमा छात्रहरुमा पनि देखिएको यो लक्षण अहिले छात्राहरुमा मात्र देखिएको छ । विशेष गरेर कक्षा ६ देखि माथिका छात्राहरुमा एकाएक देखिएको यो समस्या झनै बढेपछि विद्यालयले आईतवार सम्मका लागि विदा गरेका विद्यालयका शिक्षक स्थीरप्रसाद चापागाईले बताए । यस्तो लक्षण देखिएपछि घर पु¥याएका कतिपय छात्राहरुको यो समस्या घरमा पनि देखा परेको अभिभावकहरुले बताएका छन् । छात्राहरुमा देखिएको यो समस्याको बारेमा विद्यालयले केराबारी गाउँपालिका र स्वास्थ्य कार्यालय केराबारीमा जानकारी गराईसकेका छन् । यस विषयमा विद्यालयले मनोचिकित्सकहरु संग थप परामर्शका लागि विद्यालयमा ल्याउने चापागाईले बताए । गाउँको विद्यालयमा यस्तो समस्या देखा परेपछि स्थानीय अभिभावकहरु पनि चिन्तित भएका छन् । यस प्रकारको घटना केराबारी स्थित मच्छिन्द्र माध्यमिक विद्यालयमा गत साल देखि परेको थियो । यो लक्षण देखिएको करिब दुईसातामा छात्राहरु सामान्य अवस्थामै रहेका थिए ।