भद्रपुर । पर्यटक भित्र्याउने उद्देस्यले तीन विगहा क्षेत्रफलमा डुङ्गा सञ्चालनको लागि लाखौं रकम खर्च गरेर निर्माण गरिएको पोखरीलाई नगरपालिकाले वास्ता नगरेको पाइएको छ । नगरपालिकाले चासो नदिएकोले विगत पाँचवर्ष यता सञ्चालनमा आउन नसकेका कारण बन्द भएको छ ।

झापाको दक्षिणी क्षेत्रमा रहेको साविक पृथ्वीनगर गाविस ५ हाल भद्रपुर नगरपालिका २ मा रहेको पूर्वको धार्मिक,ऐतिहासिक तथा पर्यटकीय स्थल किचकवध परिसरमा सञ्चालनमा रहेको चारवटा डुङ्गा बन्द भएका हुन् । पर्यटकको आवश्यक्तालाइ मध्यनजर गरि देउसी खेलेर किनेका डुङ्गा नगरपालिकाको बेवास्तका कारण प्रोगबिहीन भएको स्थानीयको आरोप छ । तत्कालिन जिल्ला विकास समिति झापाले ५ लाख र पर्यटनबाट ६ लाख प्राप्त रकमले डुङ्गा सञ्चालनमा ल्याएको संरक्षण समितिका अध्यक्ष दिल बहादुर थेबेले बताए ।

रकम निकासा आएपछि निर्माण सम्पन्न भएर गत ०६९ सालमा एक वर्ष सञ्चालनमा आएको डुङ्गा पोखरीको पानी निकासको बाटो नभएकोले बन्द हुन पुगेको उनले गुनासो गरे । स्थानीयले देउसी खेलेर भेला पारेको रकमबाट तीन र उद्योगी पर्शुराम अग्रवालले एकवटा निःशुल्क प्रदान गरेको उनले जनाए । प्रति डुङ्गा २ लाखमा ल्याइएको उनले जनाए । पोखरी भन्दा माथि नीजि जग्गा भएको र पानी जाने ठाउँ नभएपछि बन्द गर्नु परेको थेबेको भनाइ छ । एकवर्ष सञ्चालन हुदामात्र ३० हजार आम्दानी भएको उनको भनाइ छ । पोखरी निर्माण भएपनि देउनिया खोलाले लिने पाँचसय मीटर तटबन्धन आवश्यक रहेको उनले जनाए । तटबन्धन समस्याको लागि छलफल गरेर वडाअध्यक्ष मार्फत योजना पेश गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

तर नगरपालिकाले हालसम्म कुनै सहयोग नगरेको उनले जनाए । डुङ्गा पोखरी, चिल्ड्रेन पार्कको लागि १५ लाख रकम माग गरेपनि नपरेको उनले बताए । बन्द भएको पोखरी र चिल्ड्रेन पार्कको लागि सञ्चालनमा ल्याएर यो क्षेत्रको विकासमा ध्यान लगाउनु पर्ने उनको भनाइ छ । डुङ्गा सञ्चालनको लागि नगरपालिकासँग समन्वय गरेर मात्र सम्भव हुने २ नम्बर वडाअध्यक्ष भीम सुब्वाले बताए । देउनिया खोलाको तटबन्धन गरेर निकास नदिएमा पोखरी सफल नहुने सुब्वाको भनाइ छ । पुनः सञ्चालनको लागि मर्मत गर्न लगेको सम्म बुझ्न आएको उनले जनाए ।