शनिश्चरे । साविक उच्च माध्यमिक शिक्षक एसोसियसन नेपाल (हिस्टान) पथरीशनिश्चरे मोरङले पथरीशनिश्चरे नगरपालिकामा विभिन्न ४ वुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

नगर अध्यक्ष राजु तिम्सिनाको अगुवाईमा हिस्टान पथरीशनिश्चरेमा आबद्ध शिक्षकहरुको प्रतिनिधि मण्डलले नगरप्रमुख दिलिपकुमार राईको कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम.घिमिरे, शैक्षिक संयोजक एवम् विद्यालय निरीक्षक दुर्गाप्रसाद सिग्देल बुझाइएको सोे ज्ञापनपत्रमा कक्षा ९ देखि १२ सम्मको माध्यमिक तहमा तत्काल आवश्यकताअनुसार शिक्षक व्यवस्थापन गर्नुपर्ने सहितका माग छन् । साविक उच्च माविमा पढाउने शिक्षकको मर्यादाक्रम अनुसार हाजिरी हुनुपर्ने, प्राज्ञिक उन्नतिका लागि अवसर प्रदान गरिनुपर्ने र निजी स्रोतमा कार्यरत शिक्षकको पारिश्रमिक पनि सरकारी सरह कायम हुुनुपर्ने माग ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख दिलिपकुमार राईले यस विषयमा आफू सकारात्मक रहेको र उल्लेख भएका समस्यालाई सरोकारवालासम्म पु¥याएर समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

हिस्टानको केन्द्रीय नीति र आन्दोलनका चरणबद्ध कार्यक्रमअन्तर्गत नगरभित्र क्रियाशील हिस्टानले पनि स्थानीय निकाय प्रमुखलाई उक्त ज्ञापनपत्र बुझाएको हिस्टान मोरङका सदस्य बुद्धिनाथ अधिकारीले जानकारी दिएका छन् ।