[caption id="attachment_84517" align="aligncenter" width="960"] विराेधमा काेशी राजमार्ग अवरूद्ध गर्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरू ।[/caption]

पानवारी । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै धरानका टेम्पो व्यवसायीले मनोमानी ढंगले भाडा वृद्धि गरी असुल्न थालेपछि सर्वसाधारण मारमा परेका छन् ।

धरानको लोकल टेम्पो भाडा २० रुपैया भएपनि त्यसलाई बढाएर अहिले कसैले २५ त कसैले ३० रुपैयासम्म लिने गरेका छन् । गत जेठ १९ गतेबाट सरकारले मूल्य वृद्धि गरी पेट्रोल प्रतिलिटर १ सय १३, डिजेल र मट्टितेल प्रतिलिटर ९५ रूपैयाँ पुर्याएको थियो । व्यवसायीले भने त्यस अघिदेखि नै टेम्पोको भाडा वृद्धि गरेका थिए । टेम्पो व्यवसायीले पेट्रोलको मूल्य प्रतिलिटर ९५ रुपैयाहुँदा कायम भएको भाडा भन्दै आफुखुसी भाडावृद्धि गरेका हुन् । धरान बाहेकका पूर्वका अन्य सहरहरुमा टेम्पो भाडा वृद्धि भएको पाइएको छैन ।

व्यवसायीले भाडा वृद्धि गरे लगत्तै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले त्यसको विरोधमा धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्याल धरान र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानमा भाडावृद्धिको विरोध गर्दै ज्ञापन पत्र बुझाएका थिए । विद्यार्थीहरुले गत जेठ १८ गते ज्ञापन पत्र बुझाएपछि र जनगुनासो समेत धरान उपमहानगरपालिकामा आएको भन्दै धरान उमपहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको अध्यक्षतामा टेम्पो व्यवसायी, ट्राफिक प्रहरीको संयुक्त बैठक जेठ २० गते बसेको थियो । संयक्त बैठकले तत्काल भाडा वृद्धि नगर्ने र भाडा वृद्धि गरेको पाइएमा तत्काल कार्वाही गर्ने निर्णय गरी भाडा निर्धारणको लागी धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत खगेन्द्र खतिवडाको संयोजकत्वमा टेम्पो व्यवासायी, उपभोक्ता हित संरक्षण मञ्च तथा ट्राफिक प्रहरी समेत रहेको संयुक्त समिति गठन गरिएको थियो । वैठकले समितिले तत्काल काम थालेर भाडा निर्धारण गर्ने भनेपनि ९ दिन वितिसक्दा समेत कुनै काम थालेको छैन ।

समितिले भाडा निर्धारण नगरेसम्म पुरानै भाडादरमा यात्रु बोक्नुपर्ने यदी बढी भाडा लिएमा कार्बाही गर्ने भन्ने निर्णय धरान उपमहानगरपालिकाकी उपमेयरको अध्यक्षतामा बसेको बैठकले गरेको भएपनि सम्बन्धित पक्षले वेवास्ता गर्दा अहिले टेम्पो व्यवसायीले मनोमानी भाडा असुली रहेका छन् ।

सोमबार पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले भाडावृद्धिको विरोधमा डेढ घण्टा कोशी राजमार्ग अवरुद्ध गरेका छन् । टेम्पो व्यवसायीले मनोमानी भाडा असुल्दा धरान उपमहानगरपालिका, ट्राफिक प्रहरीले समेत केही नगर्दा विद्यार्थीहरुलाई मार परेको भन्दै क्याम्पसका विद्यार्थी पनव कार्कीले भने –‘सम्बन्धित निकाय मुकदर्शक हुँदा व्यवसायीको मनोबल बढेको छ ।’

सम्बन्धित निकायले अलिकति मात्रै सक्रियता देखाउने हो भने पनि व्यवसायीले यसरी भाडा असुल्ने आँट गर्दैन थिए तर सम्बन्धित निकाय पुरै मौन बसेको छ कसरी घटाउछन् त भाडा ? विद्यार्थी सुमन दाहालले प्रश्न गरे ।

धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृतले भाडा बढाएर कसैले लिन नपाउने दाबी गरे । उनले यदी कसैले भाडा लिएको भए तत्काल कारवाही गर्ने समेत बताए तर अहिलेसम्म भाडा बढी लिएको भनेर एकजनालाई पनि कारवाही गरिएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर होमराज दाहालका अनुसार अहिलेसम्म कसैलाई पनि भाडा बढी लिएको विषयमा कारवाही भएको छैन ।

त्यस्तै इलाका प्रहरी कार्यालय धरानका डिएसपि रामेश्वर पौडेलले पनि अहिलेसम्म कसैले उजुरी लिएर नआएकोले कारवाही नगरेको बताए । १० रुपैया टेम्पोले बढी भाडा लियो भनेर कसरी उजुरी लिएर जानु भन्दै सर्वसाधारणले प्रश्न गर्छन् । टेम्पो व्यवसायी समिति धरानका अध्यक्ष डिबि गुरुङले आफुखुसी कसैले भाडावृद्धि गरे त्यसको जिम्मेवारी लिन नसकिने भन्दै ९५ रुपैया पेट्रोलको मुल्य हुदा कायम भएको भाडादर अहिले १ सय १३ रुपैया पेट्रोलको पुगिसक्दा पनि सोही भाडादरमा टेम्पो चलाउन नसकिने भन्दै व्यवसायीको समस्या समाधानका लागी चाडो समितिले निर्णय गर्नुपर्ने बताए । यद्यपी भाडा निर्धारण समितिको बैठक भने आज बस्ने तय भएको धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत खगेन्द्र खतिवडाले बताएका छन् ।