काठमाडाै । सैनिकहरुको भुँडी लाग्यो भने के हुन्छ ?  नेपाली सेनामा कार्यरत सैनिक अधिकारीहरु हुन् भने अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ ।

मोटोपना र दुब्लोपना अत्यधिक भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरु वञ्चित हुनेछन् । सैनिक मुख्यालयले आफ्ना सैनिकको स्वास्थ्य स्थितिलाई दृष्टिगत गर्दै ल्याएको स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधिमा तोकिएको मापदण्डविपरीत तौल भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा नहुने र शान्ति सेनामा जानबाट समेत वञ्चित हुने उल्लेख छ ।

कार्यविधिले आफ्नो स्वास्थ्य ख्याल नराख्ने, जथाभावी खाने , आवश्यक व्यायम नगर्ने सैनिक अधिकारीहरुलाई नियमन गर्नेछ । केही उच्च सैनिक अधिकारीहरु कार्यविधि कार्यान्वयनमा आएपछि तौल घटाउन क्लब नै जान थालेका छन् । बढुवालगायत शान्ति सेनाबाट समेत वञ्चित हुने भएपछि शारीरिक रुपले मोटोपना भएका, पुटुस्स भुँडी लागेका र धेरै दुब्लोपना भएका सैनिक अधिकारीहरु अहिले नियमित व्यायम गर्न थालेको सैनिक स्रोतले बताएको छ ।