इटहरी । साढे दुई दशकअघि स्थापित चारवटा मातृभाषा पठन–पाठन हुने बाल बहुभाषिक प्रावि हाल विद्यार्थी अभावमा सङ्कटमा परेको छ । इटहरी–२० (साविक हाँसपोसा–२) स्थित प्रावि यतिखेर विद्यार्थी अभावमा सङ्कटमा परेको हो । तत्कालीन समयमा विद्यार्थीको संख्या उल्लेखनीय रहे पनि अहिले विद्यार्थी अभावमा प्रावि गुज्रिएको छ । हाल विद्यालयमा ६० विद्यार्थी अध्ययनरत छन् । मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा उद्घाटन गरिएको विद्यालय अहिले एकादेशको कथाजस्तो बनेको छ । बहुभाषिक आधारभूत विद्यालयले लिम्बू भाषाको पढाइ २०५१ सालमा शुरु गर्दा सरकारले त्यसको पाठ्यक्रमसमेत तयार गरेको थिएन । लिम्बू भाषा पढाउन शुरु गरेको तीनवर्षपछि राई, तामाङ र मगर भाषाका कक्षासमेत थपिएका थिए । ४ वटा मातृभाषामा पढाएर नमुना बनेको विद्यालय अहिले सरकार र स्थानीयको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । तामाङ टोलका स्थानीयबासी तथा पूर्व व्यवस्थापन समितिका अध्यक्ष पदम तामाङले शिक्षामा गुणस्तर नभएको कारण अहिले विद्यार्थीहरु पढ्न गएका छैनन् । स्थानीयबासीले पनि विद्यालयलाई बेवास्ता गरेका छन् । ‘विद्यार्थीहरु कसरी आफ्नो स्कुलमा ल्याउने भन्नेबारे शिक्षकहरुको कुनै योजना अहिलेसम्म देखिएको छैन’ तामाङ भन्छन्, ‘सरकारले व्यवस्थितरुपमा सञ्चालन गरी विद्यालयलाई जोगाउनु पर्छ ।’ वर्षेनी विद्यार्थीहरु घट्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । बाल बहुभाषिक प्रावि व्यवस्थापन समितिका सदस्य नगेशचन्द्र राईले भाषिक शिक्षकहरु अभाव भएकै कारण विद्यालय सङ्कटमा पर्दै आएको सुनाए । ‘अहिले लिम्बू भाषाको शिक्षक विद्यालयमा भए पनि पढाइ भने हुन सकेको छैन’ –उनले थपे । विभिन्न जातजातिका विद्यार्थी पढाउने भनेर खोलिएको विद्यालय अहिले सङ्कटको अवस्थामा छ । विद्यालयलाई जोगाउन अहिले आफूहरु लागिरहेको बताउँदै चाँडै शिक्षामन्त्रीसँग विद्यालयको बारेमा कुरा राख्ने उनको भनाइ थियो । बाल बहुभाषिक प्राविका प्रधानाध्यापक टेकबहादुर सम्बाहाङ्फेले विद्यालयमा भाषा सम्बन्धी पढाइ ०५६ सालदेखि नै नभएको बताए । ‘मैले २०५१ सालदेखि नै पढाउँदै आए पनि ०५६ सालदेखि सरकारले पुस्तक दिएन, त्यसपछि अहिलेसम्म पढाइ हुन सकेको छैन’–उनले भने । सम्बाहाङ्फे भन्छन्, ‘स्थानीयबासी र सरकारी बेवास्ताकै विद्यालय सङ्कटग्रस्त अवस्थामा छ ।’ विद्यालयमा स्थायी २ जना र राहत ३ जना गरी जम्मा ५ जना शिक्षक शिक्षिकाले ६० जना विद्यार्थी पढाउँदै आएका छन् ।

अङ्ग्रेजीलाई प्राथमिकता विद्यालयमा वर्षेनी विद्यार्थीको संख्या घट्दै गएको कारण यो वर्षदेखि अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गरेकोे विद्यालयले जनाएको छ । विद्यालयको नाम बहुभाषिक भए पनि भाषा पढाइ नभएपछि अङ्ग्रेजी पढाउन थालिएको विद्यालयले जनाएको छ । अहिले अभिभावकहरुको माग अङ्ग्रेजी रहेको कारण कक्षा दुईसम्म अङ्ग्रेजी माध्यम लागू गरिएको विद्यालयको भनाइ छ । अङ्ग्रेजी पढाइ शुरुवात गरे पनि विद्यार्थीहरु बढ्दै नबढेको बताउँछन् विद्यालयका प्रधानाध्यापक सम्बाहाङ्फे । ‘हामीले विद्यार्थी बढाउन प्रयास गरिरहे पनि नजिकै खोलिएका बग्रेल्ती निजी विद्यालयका कारण विद्यार्थी नबढेका हुन्’–उनले भने । पछिल्लो समयमा सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुले पनि निजी स्कुलमा पढाउन थालेकै कारण सरकारी विद्यालयमा विद्यार्थी पढाउन छाडेका छन्’– उनी भन्छन् ।

विद्यालयमा बहुभाषा पढाउन माग देशमा जातीयताको नारा घन्किरहे पनि बहुभाषा पढाउने विषयमा भने नेतादेखि कार्यकर्तासम्म चुइँक्क नबोल्ने गरेको बताउँछिन् लासाङ तामाङ । यस्ता विद्यालयलाई जोगाउन आवश्यक रहेको उनको तर्क छ । ‘नयाँ पुस्तालाई आफ्नो भाषामा दक्ष बनाउन पनि विद्यालयलाई जोगाउनु पर्छ’ –उनी भन्छिन् । तामाङजस्तै भाषिक विद्यालयलाई व्यवस्थित गर्दै भाषालाई समेत प्राथमिकतामा राख्नुपर्ने स्थानीय अगुवा तथा विद्यालय व्यवस्थापन समितिका सदस्य नगेश राई बताउँछन् ।