पानवारी । धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितात्मक कविता गोष्ठीमा महेश अधिकारी र अप्सरा खत्रीको कविता प्रथम भएको छ । सोमबार धरान–१ स्थित धुलिखेल सेवा समाजको सभाहलमा सम्पन्न भएको प्रतियोगितात्मक कविता गोष्ठीमा धरानका विभिन्न क्याम्पस तथा विद्यालयका गरी ६४ जनाले सहभागीता जनाएका थिए । जसमा क्याम्पस स्तरीय र विद्यालय स्तरीय गरी दुइ समुहमा विभाजन गरी कविता प्रतियोगिता गरिएको थियो । क्याम्पस स्तरीय प्रतियोगितामा पिण्डेश्वर क्याम्पस धरानका महेश अधिकारी पहिलो भए भने महेन्द्र बहुमुखी क्याम्पस धरानकी पूजा खतिवडा दोस्रो भइन् । महेन्द्रकै उमेश परियार तेस्रो भए भने पिण्डेश्वरका पिताम्बर अधिकारी चौथो भएका थिए । विद्यालय स्तरीय प्रतियोगितामा ज्वालामुखी मावि धरान–१७ की अप्सरा खत्री पहिलो भइन् भने एम्स एकेडेमी धरान–१० का नितेश लिम्बू दोस्रो, विष्णु मेमोरियल उच्च मावि धरान–९ की आस्था श्रेष्ठ तेस्रो तथा समिट स्कुल धरान–९ कि अभिलाशा दाहाल चौथो भएकी थिइन् । कविता प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः नगद रु १५ हजार, नगद रु १० हजार, नगद रु ५ हजार र नगद रु ३ हजारले पुरस्कृत गरिएको धरान प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव हर्कजीत लिम्बू (चुम्मे)ले बताए । धरान शिर्षकमा बाचन गरिएका कविताहरु पहिलो चरणमा ६४ जनाले सहभागीता जनाएकोमा निर्णायकहरुले ३२ वटा कविता छनौट गरी बाचन भएको थियो । प्रतियोगिताको निर्णायकहरुमा प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. भीम खतिवडा र बरिष्ठ कवि बम देवान रहेका थिए । विजेताहरुलाई पुरस्कार वितरण प्रतिष्ठानका संयोजक तथा कार्यक्रमका अध्यक्ष अम्बिका सम्बाहाम्फे, प्रतिष्ठानका सहसंयोजक तथा कार्यक्रम संयोजक, प्रा.डा. भोला पोखरेल लगायतले गरेका थिए । धरानप्रति विद्यार्थीहरुलाई माया जगाउन साथै साहित्य क्षेत्रमा लगाव राख्नेहरुको लागी प्रतिभा पस्कने थलो बनाइदिने र प्रतिभालाई खोजी गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सदस्य सचिव हर्कजीत लिम्बू (चुम्मे)ले बताएका छन् ।