भद्रपुर । दुवै देशका सुरक्षा निकायका प्रमुखहरुको बैठक झापाको भद्रपुरमा सम्पन्न भएको छ । पूर्वमा बढ्दो सीमा विवादलाई मध्यनजर गर्दै आइतबार आयोजित नेपाल–भारत सीमा बैठकमा दुवै देशका सुरक्षा निकायका प्रमुखहरु सीमा स्तम्भ निर्माण, पुर्ननिर्माण र मर्मत गर्न सहमत भएका हुन् । बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भारत विहार राज्यस्थित सुपौल जिल्लाका डिएम बैधनाथ यादवसंग दुवै देशका सुरक्षा निकायका प्रमुखहरुले गरेको हस्ताक्षरसहितको पुस्तिका आदानप्रदान गरेका थिए ।

चालु आर्थिक बर्ष २०७४।७५को मंसिर महिनादेखि सुरु गरिएको सीमा सर्वे अनुसार यसबर्ष ९४ वटा सीमा स्तम्भ पुर्ननिर्माण गरिएको झापाका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । ‘झापा जिल्लामा मात्र ३० वटा सीमा स्तम्भ निर्माण गरिएको छ, प्रजिअ दाहालले भने, ‘झापामा बाढीले बगाएका, हराएका र भत्किएका स्तम्भ निर्माण गर्नुका साथै ५ वटा स्तम्भ मर्मत भएको छ ।, आउदो अन्तिम बर्षपनि सीमा सर्वे कार्यलाई तिव्रता दिइनेमा हस्ताक्षर गरिएको उनले बताए । सीमा विवादको बिषयमा बैठकमा अनौपाचारिक छलफल भएको थियो, जिल्लाहरुमा बेला बखत हुने सीमा विवादको बारेमा अभिलेख तयार पारी गृह मन्त्रालयमा पेश गर्ने उनले बताए । दुवै देशका सचिवस्तरीय बैठकबाट यसलाई टुंगो लगाउनेमा भारतीय सुरक्षा निकाय सहमति भएको उनको भनाइ छ । कार्यक्रममा नेपालको तर्फबाट ताप्लेजुङ, पाँचथर, इलाम, झापा र सुनसरीका प्रमुृख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी र सशस्त्र प्रहरीका एसपी, नापी प्रमुख लगायतको सहभागिता रहेको थियो । भारतका तर्फबाट किशनगञ्ज, अररिया, सुपौलका डिएम, भारतीय एसएसबी, प्रहरी, नापी लगायतको उपस्थिती रहेको थियो । यसअघि दुवै देशका सुरक्षा निकायको बैठक भारतको किशनगञ्जमा भएको थियो । सन् २०१४ देखि ५ बर्षीय योजनाका साथ नेपाल–भारत संयुक्त सीमा सर्वे अनुगमन समितिले प्रदेश नम्बर १ को पूर्वको ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा हुुदै सुनसरी सम्मका सीमा स्तम्भहरुको सर्वे गर्दै आइरहेका छन् ।