काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरण प्रक्रियालाई माथिल्लो कमिटीदेखि तल्लो कमिटीसम्म समायोजन गर्दैछ। केन्द्रीय कमिटीको समायोजन पूरा गरिसकेको नेकपाले तल्लो तहको समायोजन गर्न मापदण्ड तयार गरेको छ। नेकपाले जनवर्गीय संगठन र प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गरी नयाँ कमिटी छरितो बनाउने मापदण्ड तयार पारेको  छ।

मापदण्डअनुसार प्रदेश कमिटी कम्तीमा १५१ सदस्यीय, जिल्ला कमिटी कम्तीमा ७५ सदस्यीय, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा प्रत्येक निर्वाचन क्षेत्र बराबर पाँच सदस्य थपिने, काठमाडौंमा १२५ सदस्यीय कमिटी बन्नेछ। यस्तै, महानगर कमिटी ७५ सदस्यीय, उपमहनगर कमिटी ६१, नगर र गाउँ कमिटी ५१ सदस्यीय हुनेछ। वडा कमिटी २५ सदस्यीय र प्रारम्भिक कमिटी १५ सदस्यीय हुने मापदण्डमा उल्लेख छ। कमिटीको आकार प्रदेश र जिल्लाअनुसार केही फरक पर्ने पनि उल्लेख गरिएको छ।