काठमाडौं । विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका ब्राजिलियन स्टार स्ट्राइकर नेइमार आगामी जुन १४ देखि रसियामा हुने विश्वकप फुटबलसम्म मैदान र्फकने कसरतमा लागेका छन् । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट क्लब फुटबल खेल्ने नेमार गएको फेबु्रअरीको अन्तिम समयदेखि चोटका कारण मैदानबाहिर छन् । मैदानबाहिर लामो समय रहेर पनि फ्रेन्च प्लेयर अफ द इयर अवार्ड जितेका उनी विश्वकपका लागि ब्राजिलको अन्तिम २३ जनाको टोलीमा पनि संलग्न छन् । विश्वकपसम्म फिट हुने आशमा उनी अहिले हरेक दिन कडा मेहनत गरिरहेका छन् । उनको स्वास्थ्य प्रगति सोचेको भन्दा राम्रो भइरहेको ब्राजिल राष्ट्रिय टिमका फिजिकल ट्रेनरले बताएका छन् । उनले अलि अलि गर्दै नेइमार फिट हुँदै गएको र यसमा सहज हुने गरी काम गरिरहेको बताएका छन् । स्वीट्जरल्याण्ड, कोस्टारिका, सर्बियासँगै विश्वकपको समूह ‘ई’मा रहेको ब्राजिलले पहिलो खेल १७ जुनमा स्वीट्जरल्याण्डसँग खेल्नेछ । गएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित भएको थियो । यसपटक त्यो हारबाट बाहिर निस्किएर ऐतिहासिक उपाधि उचाल्न नेइमार महत्वपूर्ण रहेका छन् । त्यसबेला क्वाटरफाइनलमा कोलम्बियालाई २-१ ले हराएको खेलमा नेमार घाइते भएका थिए ।