विराटनगर । साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता रेवत आचार्य पक्राउ परेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले साँझ साढे ९ बजे नियन्त्रणमा लिएको हो । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

गएको संसदको चुनावमा गोरेसँग सांसद घनश्याम खतिवडालाई २ लाख चुनाव खर्च उपलब्ध गराउने व्यक्ति आचार्य थिए । उर्लाबारी ५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल छ ।

प्रहरीले भने आचार्यलाई पकाउ गरिएको विषयमा स्वतन्त्र रुपमा पुष्टि गरेको छैन । मोरङका कार्यवाहक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निशान थापाले यो विषयमा थप खुलाउन चाहेनन् ।