तनहुँ । पैसा लिएर बालिकाको हत्या गर्न आउने दुई युवा हतियार सहित बुधबार पक्राउ परेका छन्। रुकुम भूमि गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका १७ वर्षीय उज्जल सुनार र तनहुँ व्यास नगरपालिका ४ स्थायी घर भएका २१ वर्षीय सुदिप अधिकारी पक्राउ परेका हुन्।

सुनार र अधिकारीले व्यास चार बस्ने ४४ वर्षीया जुलेखा मिया र उनकी नाबालिका छोरीको ज्यान मार्ने हेतुले घरभित्र पसि धारिलो हतियारले आक्रमण गर्ने क्रममा छिमेकीले थाहा पाएपछि फरार भएका थिए। जुलेखाले हारगुहार गरेपछि भागेकाले ज्यान मार्न आउने दुवैविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी गरेपछि प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा सुनारलाई व्यास २ अमरापुरी र अधिकारीलाई व्यास १ तालघरेबाट धारिलो हतियार दाउसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

प्रहरी उपरीक्षक शाहका अनुसार घटनाको अनुसन्धान गर्ने क्रममा जुलेखाका श्रीमान पाकिस्तानी नागरिक ६९ वर्षीय अमानतुल्ल खानसँग विवाह पछि पाकिस्तान जानुपर्छ नगए जेपनि गर्न सक्छु भनेर धम्क्याउदै आएको र उनीहरु दुवैलाई उनका श्रीमान पाकिस्तानी नागरिकले २० हजार नगद दिएर जुलेखालाई मार्न धारिलो हतियारले हान्न पठाएको बताएका छन्। उनीहरुले काम सम्पन्न भएपछि थप रकम दिने भनि पठाएको पक्राउ परेका सुनार र अधिकारीले प्रारम्भिक बयानबाट खुलेको छ। उनीहरु विरुद्ध जुलेखा मियाले ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी दिएको र तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।