बेलबारी । मोरङ बेलबारी स्थित वेतना सिमसार सामुदायिक वन समुहको विकास र प्रवद्र्धनका लागि २० वर्षे गुरुयोजना निर्माण गरिने भएको छ । प्रस्तावित गुरुयोजनालाई पूर्णता दिन विहीवार स्थानीय सरकार, संघसंस्थाहरुको उपस्थितिमा छलफल गरिएको छ । सिमसार क्षेत्रलाई २० वर्ष भित्रमा पूर्वकै पर्यटकीय गन्तव्य बनाउन सिमसारले गुरु योजना बनाउन लागेको हो । योजना सम्पन्नका लागि करिब डेड अरवको बजेट आवश्यक पर्ने देखिएको छ । सिमसारले सामाजिक , साँस्कृतिक, आर्थिक विकासलाई प्रवद्र्धन गर्न विभिन्न आयमुलक , खोज अनुसन्धान र जानकारी मुलक भौतिक निर्माणहरु गर्ने भएको छ । प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सिमसार भित्र विभिन्न योजनाहरु निर्माण गरिने भएको छ । सिमसारको गुरुयोजनामा संग्राहलय देखि प्रदेशकै ठूलो चिडिया घर बनाउने योजना रहेको छ । मनोरन्जनका लागि मचान निर्माण,जंगलसफारी,स्वीमिङ पुल, वालउद्यान,पिकनिक स्पोर्ट,बोटिङ , ट्री ट्रेल लगायत निर्माण गरिने भएको छ भने स्वास्थ्यका लागि ध्यान केन्द्र, खेलमैदान आदि बनाईने भएको छ । त्यसैगरी आयआर्जनका लागि तालिम केन्द्र, विभिन्न शिप विकासका कार्यक्रम, उपाचार केन्द्र , वायोग्याँस लगायत पर्यटन संगसम्वन्धित विषयमा शीप सिकाईने प्रस्ताव गरिएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा राजनैतिक दलका नेताहरुले योजना माथि सुझाव राखेका थिए । सिमसारले गुरुयोजनालाई पूर्णता दिन यस अघि जातिय संस्था,संचारकर्मी लगायत सरोकार सबै संग अन्तरक्रिया गरेको थियो । तथ्याङ्क अनुशार सिमसारले गतसालको आर्थिक वर्षमा १ करोड ११ लाख आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा अवलोकन कर्ताहरुको संख्या बढ्दो रहेको पाईएको छ । छलफल कार्यक्रममा बेलबारी नगरका अध्यक्ष ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रम वेतना सिमसारका अध्यक्ष डम्बर वस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।