खाँदबारी/ स्वास्थ्यका कर्मचारीलाई निशुल्क आबासका लागि जिल्ला अस्पताल खाँदबारीमा क्वाटरको व्यवस्था छ । अस्पतालका अत्यावश्यक सेवामा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई आबासका लागि क्वाटरको व्यवस्था गरिएको हो ।

तर ती मध्येका कोही पनि कर्मचारी क्वाटरमा बस्न पाएका छैनन् । क्वाटरमा जनस्वास्थ्य कार्यालयका कर्मचारी र अस्पतालका कार्यालय सहयोगी समेत बस्ने गरेका छन् । उनीहरु क्वाटरमा बसेपछी अस्पतालका २४ घण्टे चिकित्सक तथा नर्सहरु अन्यत्रै महँगो भाडा तिरेर बस्न बाध्य छन् ।

जिल्ला जनस्वास्थ्यका पब्लिक हेल्थ नर्स भवानी बस्याल, बरिष्ठ ल्याब टेक्निसिय निरिक्षक उपेन्द्र प्रसाद शाह, एम्बुलेन्सका चालकहरु र कार्यालय सहयोगीहरु सहित करिब २० जना क्वाटरमा बस्दै आएका छन् ।

तर स्टाप नर्स गंगा खत्री, अनमी रिता थापा, स्टाप नर्स सर्मिला घलान, इमरजेन्सी इन्चार्ज लक्ष्मीप्रसाद वनेम र रेडियो ग्राफर अनेश कुमार सिंह महँगो भाडा तिरेर अन्यत्रै बस्न बाध्य भएका छन् । अन्य कर्मचारीले क्वाटर प्रयोग गरेपछी २४ घण्टे चिकित्सक र कर्मचारीहरु अस्पताल परिसर भन्दा बाहिर भाडामा बस्ने गरेकाले सेवा प्रवाहमा समेत समस्या हुने गरेको छ ।

पब्लिक हेल्थ नर्स भवानी बत्स्याल स्थानीय भए पनि परिवार सहित वर्षौदेखि क्वाटर प्रयोग गर्दै आएका छन् । अस्पतालका कर्मचारीलाई आबासका लागि समस्या भएको भन्दै बस्याललाई तत्कालिन जिल्ला स्वास्थ्य प्रमुख सुशिलनाथ प्याकुरेलले २०६४ सालमा नै क्वाटर खाली गर्न पत्र लेखेका थिए । तर यहीँ विषयमा पहुँचका आधारमा प्याकुरेललाई स्वास्थ्य मन्त्रालयले तान्यो । त्यसयता पनि बस्याललाई अस्पतालले पटकपटक क्वाटर खाली गर्न सुझाव दिदा पनि सुनुवाई नभएको अस्पताल स्रोतले जनाएको छ । क्वाटरकै विषयमा विवाद उत्पन्न हुने र कार्यालयमा तालाबन्दी समेत हुने गरेको छ ।