पाँचथर/पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा क्याम्पस भवनको निर्माण कार्य तीन महिनामै सम्पन्न भएको छ । उपभोत्ता समिति मार्फत भवन निर्माणको काम हुदै आएको थियो ।

समितिले २०७४ फागुन ३० गते बाट सुरुगरेको योजनाको काम २०७५ साल बैसाख ३१ गते पुरा गर्नुपर्ने लक्ष्य राखिएको थियो । तर सो अवधी भित्रै समितिले भवनको काम पूरा गरेको छ । क्याम्पस भवनको काम २०७० सालबाट सुरुभएको थियो । आठ कोठे भवन निर्माणको लागि विश्वविद्यालयको अनुदान आयोगले कुल ३७ लाख रुपयाँ रकम विनियाेजन गरेको थियो । तर भवन निर्माणको लागि उक्त रकम अपुग भएको भन्दै भवनको काम बीचमै स्थगित भएको थियो । स्थानिय निकायको निर्वाचन पछि कुम्मायक गाउँपालिकामा स्थानिय सरकारको उपस्थीति भएसँगै गाउँपालिकाको गाउँसभाबाट अधुरै अवस्थामा रहेको भवन निर्माणको लागि ३० लाख रुपयाँ बिन्योजन गरेको थियो । तत्कालीन समयमा भवन निर्माणको लागि भन्दै उपभोत्ता समिति गठन गरी भवनको काम अघि बढाएको समितिले तीन महिनामै निर्माण कार्य सम्पन्न गरेको छ ।

भवन निर्माणको काम गर्दा समितिले स्थानिय कामदारहरुलाई २५ लाख ५० हजारमा ठेक्का दिएको थियो । बाँकी रहेको ४ लाख ५० हजार रकम बचत गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष मेघराज निरौलाले बताए । पाँच बर्षमा पुरा नभएको योजना तीन महिनामा निर्माण गर्न सफल भएका छौ, उनले भने । बाँकी रहेको रकम के कती हुन्छ बचत गर्ने समितिको उदेश्य छ । यासोक क्याम्पसले बिगत लामो समय देखी जिर्ण भवनबाटै विद्यार्थीलार्इ पठन पाठन गराउँदै आएको थियो । नयाँ भवन निर्माण पछि पठन पाठनमा सहजता हुने यासोक क्याम्पसका प्रमूख कर्णबहादुर लावतीले बताए । नवनिर्मित क्याम्पस भवनमा पुस्तकालयको सञ्चालनको लागि भन्दै यस अघिनै बेलायत निवासी प्रवासीहरुले ८३ हजार दुइ सय ७५ रुपयाँ आर्थिक सहयोग समेत जुटाएका थिए । यासोक क्याम्पसमा स्नातक तह सम्म शिक्षा, मानविकी र ब्याबस्थापन सङकायमा पठन पाठन हुदै आएको छ ।