कोशीटप्पु । कोशी टप्पु वन्य जन्तु आरक्षमा विश्वमै दुर्लभ मानिएको जंगली भैसी (अर्ना ) को संख्या बढ्दै गएको छ । टप्पुमा अर्नाको संख्या बढेर ४४१ पुगेको छ । चैत २७ गतेदेखि ३० गतेसम्म गरिएको गणनाको तथ्याङ्कले कोशी टप्पुमा अर्नाको संख्या बढ्दै गएको पाईएको हो । कुल अर्नामध्ये एक बर्षको वच्चा ३८, दुई बर्षको ४०, अर्धव्यस्क ३५, वयस्क पोथी १९१ र वयस्क भाले १३७ वटा रहेको कोशी टप्पु वन्य जन्तु आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सार्वजनिक गरे । यस बर्षको गणनाका क्रममा ८३ प्रतिशत कोशी नदीको पूर्वतर्फ र १७ प्रतिशत अर्ना कोशीको पश्चिमी क्षेत्रमा रहेको पाइयो तिवारीले भने । दुई बर्षअघि कोशी टप्पुमा अर्नाको संख्या ४३२ थियो । यी अर्नामध्ये दसवटा पोथी र तीनवटा अर्धवयस्क भाले चितवन राष्ट्रिय निकुञ्जमा सारिएको थियो । दुई बर्षअघि गणना गरिएका अर्नामध्ये कालगतिले पाँचवटा मरेको र प्रतिसोधको भावनाबाट चारवटा भाले वयस्क अर्ना मारिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । सन् २०१४ मा गरिएको गणना अनुसार आरक्षमा अर्नाको संख्या तीन सय २७ थियो । २०३२ सालदेखि ७६ वटा अर्नादेखि आरक्ष प्रशासनले संरक्षण गदैं आएको छ। स्थापना कालको आा बार्षिक अर्नाको बृद्धिदर ८.१ प्रतिशत रहेको छ ।अर्नाको सरदर आयु २५ बर्षको हुन्छ र पोथीले जीवनकालमा पाँचवटा बच्चासम्म जन्म दिन्छ । अर्नाको मुख्य वासस्थान कोशी नदीको विभिन्न भंगालोहरु नजिकका घाँसे मैदान रहेको छ। विश्वका पाँचवटा मुलुकमा मात्र अर्ना पाइन्छ । नेपाल, भारत, भुटान, कम्बोडिया र थाइलैण्डमा अर्ना पाइन्छ । यी मुलुकमध्ये भारतपछि संख्याको आधारमा नेपालमा बढी अर्ना पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ ले यसलाई संरक्षित वन्य जन्तुको सूचीमा राखेको छ । सप्तरी, उदयपुर र सुनसरी गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । कोशी टप्पुमा वन्य जन्तुले आसपासका बासीन्दाको वालीमा क्षती पु¥याउने गरेकाले गर्दा समस्या सृजना हुँदै आएको छ। आरक्षको चौडाई दस किलोमिटर र लम्बाई साढे १७ किलोमिटर भएकाले गर्दा पनि बेला बेलामा अर्नाले सर्वसाधारणको अन्नबाली खाएर नष्ट गर्ने गरेको छ। यसरी अन्नबाली खादा मावन–वन्य जन्तुबीच द्धन्द्ध बढेर गएको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले बताए । ‘मानव–वन्यजन्तुबीच भएको द्धन्द्धका कारण पीडित भएका परिवारलाईं समयमै क्षतीपूर्ति दिन समस्या हुदैं आएको छ,’ उनले भने । आरक्षण स्थापना कालमा अर्नाको संख्या ६३ मात्र भए पनि अहिले वर्षेनी अर्नाको संख्या बढ्दै गएको छ उनले थपे । वन्य जन्तुकै कारण कोशी टप्पु आरक्ष आसपासको मध्यवर्ती क्षेत्रका बासीन्दा र आरक्ष प्रशासनबीच सम्बन्ध बिग्रदै आएको छ। यसका लागि सम्बन्ध सुध्रार्नका लागि केन्द्रीय तथा प्रदेश सरकारले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने कोशी गाउँपालिकाका प्रमुख अयूव अनसारीले बताए । अनसारीले पछिल्लो समयमा अर्नाको संख्या बढ्दै जानु देशकै लागी राम्रो भएको प्रतिक्रिया दिए । प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीस कुसियतले कोशी टप्पु आरक्षलाई नमूना पर्यटकीय स्थल बनाउन लागि पर्ने वचन दिए । उनले वन्य जन्तुबाट पीडितलाई समयमै क्षतीपूर्ति दिन पनि गम्भीर भएर लाग्ने बताए । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन् ।