भद्रपुर । झापाको दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भीमप्रसाद पौडेलको घर अगाडि बम विष्फोट भएको छ । आइतबार राति ९ बजेतिर उनको घरको चेनगेटमा शक्तिशाली आवाजसहित बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विस्फोटमा परी पौडेलको घर अगाडि हिडिरहेका २ जना बटुवा घाइते फेला परेको प्रहरीले जनाएको छ । घाइते सेमु राई र त्रिलोचन पोखरेलको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेलुका शितल खादै हिडिरहेको अवस्थामा उनिहरुलाई बमको छर्रा लागेको बताइएको छ । प्रहरीले घटनाको विषयमा अहिले केही भन्न नमिल्ने र घाइते भएका व्यक्ति कहाँको र कसरी त्यहाँ आइपुगे भन्ने विषयमा अनुसन्धान थालेको बताएको छ । दमक–७ को सुनलाइनमा रहेको नगरपालिकाको जग्गामा निर्माण गरिएको घरटहरा भत्काउँदा उनीमाथि दबाब आएको थियो । सोही कारणले उनलाई निशाना बनाएको हुनसक्ने प्रहरीको आशंका छ ।