फर्नान्डो टोरेसले स्पेनिस ला लिगा फुटबल क्लब एथ्लेटिको मड्रिडबाट आफ्नो अन्तिम खेलमा दुई गोल गरेका छन् । ला लिगा अन्तर्गत आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले एइबरसँग २–२ को बराबरी खेलेर अंक बाँड्यो । घरेलु टोलीका लागि दुवै गोल टोरेसले गरे ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रो हाफमा पनि दुवै तर्फबाट एक एक गोल भएको हो । ३५ औँ मिनेटमा किकेले गोल गर्दै एइबरलाई सुरुवाति अग्रता दिलाए । टोरेसले ४२ औँ मिनेटमा टिमका लागि बराबरी गोल फर्काए । उनले ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि एथ्लेटिको १० खेलाडीमा सीमित भयो ।

बराबरीपछि ला लिगामा दोस्रो स्थानमा रहेर सिजन टुंग्याएको एथ्लेटिकोको ३८ खेलबाट ७९ अंक भयो । यो तेस्रो स्थानको रियल मड्रिड भन्दा तीन अंक धेरै हो । लुकास हर्नान्डेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि एइबरले गोल ग¥यो । एइबरका लागि पेनाले ७० औँ मिनेटमा बराबरी गोल फर्काए ।

गार्ड अफ अनर लिभरपुल तथा चेल्सीका पूर्व स्ट्राइकर समेट रहेका ३४ वर्षे टोरेजलाई भ्रमण टोली एइबरले खेल सुरु हुनु पूर्व गार्ड अफ अनर दियो । खेल सकिएपछि एथ्लेटिकोका साथी खेलाडीले उनलाई अर्को पटक गार्ड अफ अनर प्रदान गरे ।

खेलको कप्तानी गरेका टोरेसले एथ्लेटिकोबाट जितेको एकमात्र उपाधि भनेको युरोपा लिग हो । एथ्लेटिकोले गएको बुधबार युरोपा लिगको उपाधि जितेको थियो । टोरेसले एथ्लेटिकोमा दुई कार्यकालमा गरी ४०४ खेलमा १२९ गोल गरेका छन् । उनी सन् १९९५ मा युवा खेलाडीको रुपमा एथ्लेटिकोमा ज्वाइन भएका थिए ।

सन् २००७ मा उनी लिभरपुल गए । त्यसपछि चेल्सी तथा एसी मिलान हुँदै सन् २०१५ मा उनी फेरि पुरानो क्लब एथ्लेटिको मड्रिडमा फर्किए । एथ्लेटिकोमा उनलाई एन निनोको रुपमा चिन्ने गरिन्छ । फ्यानले रंगशालमा उनको जर्सी नम्बर सहित डी निनो ए लेयन्डा अर्थात फ्रम अ किड टु अ लेजेण्ड बनाएर तस्बिर खिचाए ।

टोरेस यो सिजन पहिलो रोजाइमा पर्न सकेनन् र जुनको अन्त्यसँगै सम्झौता सकिने भएपछि क्बल छोड्न लागेका हुन् । तर अहिलेसम्म उनी कुन क्लब जाने भन्ने खुलेको छैन ।