बेलबारी । आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले प्रदेशको नामाकरण र राजधानीको विषयमा आगामी असार मसान्त भित्र टुंगो लाग्ने बताएका छन् । शनिवार मोरङको केराबारी ९ भलुवामा गोमा स्मृति प्रतिष्ठानले स्व.गोमा वस्नेतको २७ औं स्मृति दिवशको अवशरमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले सो बताएका हुन् । प्रदेशको नामाकरण र राजधानीको विषयलाई टुंग्याए पछि विकासका योजनामा सरकार तिब्र गतिमा लाग्ने कार्कीले बताए । कर्णाली प्रदेशको नमुना पेश गरेर किन ढिलो भनेर प्रश्न हामीमा आएता पनि यहाँको विशिष्टता केहि भिन्न भएकोले अब यसलाई छिट्टै निष्कर्षमा लगिने बताए । यद्यपी मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामांकन एक महिना भित्र हुने यस अघि बताएका थिए । त्यसैगरी मन्त्री कार्कीले प्रदेश सरकारको योजना बारे बोल्दै सिचाईलाई व्यवस्थित गर्न तमोरलाई डाईभर्सन गरेर चिसाङमा मिसाउने योजना रहेको बताए । यसले विजुली, सिचाई र पर्यटनमा समेत लाभ हुने बताएका छन् । यस पटकको बजेटले अध्ययन, अनुसन्धान गरिने छ आगामी ०७७ साल सम्ममा तमोरलाई डाईभर्सन गर्ने गरिको योजना बनाउने छौं । यसले झापा मोरङका खेतीयोग्य जमिनलाई सिचिंत गर्न सजिलो हुने र कृषि प्रयोजनमा ठूलो राहत पुग्ने बताएका छन् । प्रदेश सरकारको नीति र कार्यक्रम बारे बोल्दै मन्त्री कार्कीले अहिले प्रदेश सरकारको कार्यालय व्यवस्थापनमै समय खर्चेको हुँदा अब सरकारले क्रमिक रुपमा काम थालनी गर्ने बताएका छन् । साथै प्रदेश सरकार अहिले पनि पूर्ण रुपमा स्वायत्त नभएको हुँदा सरकारद्धारा विनीयोजित बजेट समेतको काम कारवाही गर्न नसकेको बताएका छन् । केन्द्र सरकारले रोकेको कारण बजेट परिचालन समस्या आएपछि केन्द्र सरकारलाई दवाव दिईरहेको पनि कार्कीले बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नरेश पोख्रेल, पूर्व जिविस सभापति खड्ग बस्नेत, केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्र मल्लले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अवशरमा विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा २० वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा कविर मावि बेलबारीका पुजा गुरुङ प्रथम भएकी छिन् । त्यसैगरी आदर्श मावि बेलबारीका विहानी गुरुङ द्धितिय र सिद्धार्थ सेकण्डरी स्कुल खोर्सानेका सुप्रिया प्रधान तृतिया भएकी छिन् । त्यसैगरी सगरमाथा स्कुल बेलबारीका रंजिता तामाङ, र वालप्रतिभा स्कूल खोर्सानेका नुमा लिम्वु सान्तवना भएका छन् । विजयीहरुलाई क्रमश ४ हजार, ३ हजार , २ हजार र १÷१ हजारको दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम प्रतिष्ठानका सचिव भुपाल कार्कीका स्वागत मन्तव्य रहेको थियो भने जेवी थुलुङले कार्यक्रम संचालन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष खगेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।