मधुमल्ला । नेपाल कम्यूनिष्ट पार्टीका नेता पदम राईले प्राकृतिक स्रोतको दोहन रोक्न युवाहरु लाग्नु पर्ने बताएका छन् । मोरङको उर्लाबारीमा शनिबार भएको बाईसीएलको नगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले उर्लाबारीको सोल्टी र मिक्लुक खोलामा उर्लाबारी नगरपालिकाकै जनप्रतिनिधिको संलग्नतामा च्यानालाइजको नाममा अबैध निकासी भएको भन्दै युवाहरुले त्यसको भण्डारफोर अभियान थाल्नु पर्ने बताएका हुन् । जनप्रतिनिधिहरुको फटाई विरुद्ध युवा लाग्नु पर्छ’ उनले भने–‘त्यसमा पार्टीको साथ र सहयोग हुन्छ ।’ यसैबीच एमाले र माओबादीबीच एकता भएसँगै वाइसीएल उर्लाबारी नगरकमिटीले स्वागत गरेको छ । पार्टी एकतासँगै बनेको नेपाल कम्यूनिष्ट पार्टीले अब आर्थिक विकासलाई अगाडि बढाउन आवश्यक रहेको युवाहरुले औलाएका छन् । युवाहरु पलायन हुने क्रम रोक्न पनि अबको सरकारले ध्यान दिनु पर्ने उक्त भेलाले निष्र्कष निकालेको छ । वाइसीएलका प्रदेश नं. १ का संयोजक पूर्ण भूजेल, केन्द्रीय सदस्य विजय डाँगी, मोरङ अध्यक्ष अशोक दाहाललगायतले बोलेका थिए । भेला वाइसीएल उर्लाबारी अध्यक्ष राजीव लिम्बूको सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालन सचिब मित्र आचार्यले गरेका थिए भने स्वागत इन्चार्ज खगेन्द्र पराजुलीले गरेका थिए ।