एम्बुलेन्सको साइरन बज्दै थियो, मृत्युले ओभरटेक गरेर गयो

रुबिना श्रेष्ठ 

बिहानको साढे ११ बज्दै थियो होला । बुधबार बिहानको कुरो गर्दैछु । कौशल्टारबाट बानेश्वर आउँदैथिएँ । लोकन्थलीदेखिको जाम छिचोल्दै म चढेको ट्याक्सी लोकन्थली जडिबुटीको सिमानामा पर्ने मनोहराको पुलसम्म आइपुग्यो । पछाडिबाट साइरन बजाउँदै एम्बुलेन्स आउँदै थियो । केहीले बाटो छोडे, केहीले छोडेनन् ।

एम्बुलेन्समा मृत्युसँग संघर्ष गर्दैथिए एक बालक । अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बालक बोकेको एम्बुलेन्स जसोतसो त्यहाँबाट जाम छलेर अगाडि बढ्ने प्रयास गर्दै थियो, तर सकेन । जाम खुल्यो । खुल्न त खुल्यो, तर फेरि जडिबुटी कोटेश्वरको सिमानामा जाम सुरु भयो । एम्बुलेन्सको साइरन एकोहोरो बजिरह्यो । लाग्थ्यो एम्बुलेन्स भित्र छट्पटाइरहेको बालकले चिच्याउँदै भन्दैछ ‘मलाई चाहिँ जान दिनु न है ।’ तर सुन्ने कसले रु बाटो उस्तै हो, बनेको बन्यै, अनि भत्केको भत्क्यै । अनि गाडीको के कुरा गर्नु हिजोभन्दा आज, आजभन्दा भोलि बढेको मात्रै हुन्छ । मान्छे धनी भएका हुन कि जस्तो पनि लाग्छ ।

हाम्रो ट्राफिक व्यवस्था, सडकको अवस्था अझै संसार जित्न पुग्नुछ जसरी ओभरटेक गर्दै बाटो छेकेर कुद्ने मोटरसाइकल । कसले सुन्ने एम्बेलेन्सको साइरन, कसले सुन्ने मृत्युसँग संघर्ष गरिरहेको बालकको मौन चिच्याहट ।

२ मिनेट, ३ मिनेट, ६ मिनेट जाम खुलेन । १० मिनेट भयो, अझै जाम खुलेन । एम्बुलेन्स एकोहोरो साइरन बजाउँदै छ अझै पनि । एकैछिनमा एम्बुलेन्सको साइरनको चर्को आवाजलाई पनि जित्दै एम्बुलेन्स भित्रबाट कोही चिच्याएको आवाज आयो । सबको ध्यान त्यसैतर्फ तानियो ।

जाम पहिले खुल्छ कि मृत्यु पहिले पुग्छ भन्ने हानथापमा मृत्युले जितेछ । बालकको मृत्यु भयो । एम्बुलेन्सभित्र रोएको आवाजले जडिबुटीको जाममा रहेका सबैको आँखा रसाए । गाडीको घच्चाघच्ची, ट्याँट्याँ टुँटुँको आवाजहरु सबै एम्बुलेन्सभित्र रुँदै गरेकी महिलाको आवाजमा बिलीन भए ।

जाम खुल्यो सबै आ–आफ्नो बाटो लागे । जडिबुटी चोकको ट्राफिक आइल्याण्डमा उभिएर रोक र अगाडि जाउ भन्दै हात हल्लाइरहेका ट्राफिक प्रहरीले पत्तोसम्म पनि पाएनन् होला जाममा एउटा बालकले आफ्नो अन्तिम श्वास फेरे ।

जडिबुटी कोटेश्वरको जाममा दैनिकजसो परे पनि यति दुःखद घटनाको साक्षी बस्न पहिलोपल्ट लेखेको रहेछ । दिनभरि मनमा छटपटी भइरह्यो । लाग्यो यसरी हरेक दिन जामकै कारण अस्पताल समयमा पुग्न नपाएर कतिले ज्यान गुमाउँछन् होला रु

हामी गाउँमा अस्पताल नहुँदा सुत्केरीको मृत्यु भएको, गाडी नहुँदा बिरामीलाई अस्पताल पुर्याउन नसकिएको, हेलिकप्टरबाट बिरामीको उद्धार गरिएको खबर बनाउँछौँ, खबर पढ्छौँ । ती ज्यादै ठूला लाग्छन् तर शहरको व्यस्त सडकमा साइरन बजाउँदै बाटो माग्ने एम्बुलेन्स, एम्बुलेन्सभित्र छट्पटाएको बिरामीका खबर त छुट्ने रहेछन् ।

सडक पनि छ, सुविधा पनि छ, पाँचै मिनेटको दूरीमा अस्पताल पनि । तर मृत्युले नभन्ने रहेछ ‘नजिकै छ अस्पताल आधा घण्टामा जाम खुल्छ म लग्दिन तँलाई ।’

यस्तै यस्तै कुरा दिनैभरी खेले मनमा । यसरी कुरा खेलाउने भन्दा अरु के नै गर्न सक्छु र रु

कुरा खेल्नु फरक कुरा । प्रश्नैप्रश्नले घेरिनु अर्को कुरा । त्यो पनि उत्तरको पत्तो ठेगान नभएका प्रश्नहरु । यी प्रश्न कस्लाई सोध्ने थाहा छैन तर मन हल्का बनाउन भए पनि सोध्न मन लाग्यो । केही प्रश्न पढ्दै गरेका पाठकलाई हुन सक्छ, केही प्रश्न सरकारलाई, केही प्रश्न म आफैलाई पनि हुन सक्छ ।

माथिको घटनामा बिरामीको मृत्युको प्रत्यक्षदर्शी भएँ । मृतक को हो, उसँग मेरो कुनै नाता सम्बन्ध छैन । तर पनि मलाई यो घटनाले छोयो । त्यो एम्बुलेन्सभित्र मेरो आफ्नो कोही भएको भएरुरु अथवा त्यो एम्बुलेन्स भित्र तपाईंका कोही आफन्त भएका भए रु वा त्यो ट्राफिक आइल्याण्डमा उभिएका ट्राफिक प्रहरीका कोही आफन्त भएका भए रु वा त्यो एम्बुलेन्सलाई ओभरटेक गरेर बाटो छेक्ने बाइकवालाका कोही आफन्त भएका भए रु

अनुभूति । हामी अरुको दुःख अनुभुत गर्न सक्दैनौँ, गर्दैनौँ । बालकले एम्बुलेन्सभित्र प्राण त्यागे । हामी दायाँबायाँ बस्नेले सुकिजाने आँसु झार्यौँ । कतिले पत्तोसम्म पनि पाएनौँ होला । हदै भए हामीले बिचरा भन्छौँ, सहानुभूति प्रकट गर्छौँ । हामी न हाम्रा मान्छेलाई ती बालकको ठाउँमा राखेर हेर्छौँ न आफूलाई उनको आमा वा आफन्तको ठाउँमा । यो कुरा हामी बिर्सिदिन्छौँ । भोलिदेखि फेरि उही प्रक्रिया सुरु हुन्छ ।

दुई लेनको सडक चार लेनको भएको धेरै भइसक्यो । जडिबुटी कोटेश्वरको जाम कहिले हट्दैन । मानौँ यहाँको जाम हट्यो भने संसार उल्टिन्छ, प्रलय हुन्छ । अरुतिर पनि जाम हुन्छ। तर म भक्तपुरको बासिन्दा भएकोले यहाँको जामसँग सँधै पौँठेजोरी खेल्दै गन्तव्यमा पुग्छु ।

खैर कुरा जामको हैन । गाडी धेरै छन्, सडक ‘साँघुरो’ छ, आकाशे पुल छैन, लेन अनुशासनको हालत उस्तैछ । धेरै कारण दिन सक्छौँ, यदि जाम किन भयो कसैले सोधे भने । तर के चोकमा बसेका ट्राफिक प्रहरीले एम्बुलेन्सको साइरन सुन्दैन रु कि सुनेर पनि नसुनेजस्तो गर्नु उसको बाध्यता हो रु कि अरु सामान्य गाडी जस्तै एम्बुलेन्सले पनि ट्राफिकले जान भनी अगाडि बढ्न पाउँदैन ।

बाइकले लेन मिचेर अघि बढ्ला, अरु गाडीले लेन मिच्ला र जरिवाना तिराउँला भनेर ढुकेर बस्ने ट्राफिक प्रहरीले एम्बुलेन्सको साइरन किन सुन्दैन रु ट्राफिक प्रहरीको काम केही कारणबस अवरुद्ध भएको बाटो खुलाउनु हो जस्तो लाग्छ मलाई । कम्तिमा एम्बुलेन्सको लागि चाहिँ बाटो खुलाइदिनुपर्छ नि । सबैलाई यस्तो नलाग्न पछि सक्छ ।

ट्राफिक प्रहरीले बेला बेलामा राम्रा काम गरेर नागरिकको मन जित्ने प्रयास गरिरहेको हुन्छ । कहिले नो हर्न अभियान चलाएर त कहिले जेब्राक्रसिङ बाहेक अन्तबाट बाटो काट्न नपाउने नियम लेराएर । ती अभियानमा नागरिकले साथ दिँदै गर्दा अभियान सुरु गरेको ट्राफिक प्रहरीले कत्तिको अनुगमन गर्यो रु ९ दिनमा नौलो २० दिनमा बिर्सियो भनेजस्तै अहिले ती अभियान नागरिकले बिर्सिसके ।

जथाभावी हर्न बजेकै छन्, जथाभावी बाटो काटेकै छन् । हामी नेपालीमा एउटा बानी के बसिसकेको छ भने यो नेपाल हो यहाँ जे गरेपनि छुट छ । ट्राफिक प्रहरीले सुरु गरेका अभियानहरु उनीहरुको फाइदाका लागि होइन हामी नागरिककै लागिहो भन्ने हामी सोच्दैनौँ । हामीलाई लाग्छ जसले जे गरेपनि पैसा खानकै लागि हो

म जडिबुटीको जाममा एम्बुलेन्सको साइरन सुन्दै जाम खुलोस अब भन्ने कामना गर्दै गर्दा यता गृहमन्त्री रामबहादुर थापाले कर्मचारीलाई झाँट्दैरैछन् सडक व्यवस्थापनको निर्णय कार्यान्वयन नभएको भन्दै । गृहमन्त्री बने लगत्तै मन्त्रीज्यूले ट्राफिक जाम न्यूनीकरणको लागि पनि निर्देशन दिनुभएको रहेछ । मन्त्रीज्यू ट्राफिक जाम न्यूनीकरणको कुरो तत्कालका लागि छोडौँ पहिले एम्बुलेन्सलाई सहज ढंगमा अगाडि बढ्न दिउँ न हुन्न रु

ट्राफिक जाम त सदियौँ देखिको परम्परा हो नि यो अहिले सकियो भने त परम्परा तोडिन्छ, मान्छेहरु ठिक–ठिक समयमा ठाउँमा पुग्छन् बहाना पो सकिन्छ त जाम थियो अनि ढिलो भयो भन्नलाई । नो हर्न, जेब्राक्रस, आकाशे पुल, फुटपाथ ब्यापार सबै बिर्सिदिम् । सबैभन्दा पहिला एम्बुलेन्सलाई सहज आवतजावतको व्यवस्था मिलाम् न हुन्न त रु

अनि तमाम सवारी चालकलाई एउटा अनुरोध । हुन त म को नै हुँ र अनुरोध वा याचना गर्न । मै पनि कतिपय अवस्थामा एम्बुलेन्सले बजाएको साइरन सुने नसुन्यै गरेर हिँडेको छु । तर बुधबारको घटनाले मलाई अब हरेकपटक यस्तो गर्दा सचेत गराउनेछ पक्कै । किनकी मृत्युभन्दा पर अर्को कुनै ठाउँ हुन्न पुग्ने । त्यसैले यदि तपाईँले एम्बुलेन्सको साइरन सुन्नुभयो भने उसको लागि बाटो छोड्दिनुस्, अगाडि जान दिनुहोस् । अझै सक्नुहुन्छ भने अगाडि उभिएका ट्राफिकलाई पनि दबाब दिनुहोस् एम्बुलेन्सको लागि बाटो छोडाउन् । तपाईँ हामी त सधैँ ढिलो नै त पुग्छौँ जहाँ जाँदा नि ।

बानी परिसक्यो हाकिमको व्यंग्य सहने । बानी परिसक्यो ढिलो पुग्ने । छिटो कहीँ पुग्दा त लाज हुन्छ । बाइक चलाउनुहुन्छ भने साइड लागिदिनुहोस् । बाइक त आजकल उडिहाल्छन् एम्बुलेन्सलाई बाटो छोड्दैमा तपाईँलाई ढिलो हुन्न नि । देशका तमाम बेथितिलाई त हामी सधैँ सरापी रहेकै हुन्छौँ । यत्ति एउटा थीति हामी आफैबाट सुरु गरौँ न एम्बुलेन्सलाई बाटो छोडिदिम् ।

त्यसभित्र मृत्युसँग पौँठेजोरी खेलिरहेका विरामी बाँचे भने आशीर्वाद दिनेछन् । एम्बुलेन्स छिटो अस्पताल पुग्न पायो भने विरामीले जीवनदान पाउँछ । हाम्रो त के छ र रु हदै भए गन्तव्यमा छिटो पुग्छौँ वा ढिलो पुग्छौँ । तर जीवनभन्दा टाढाको गन्तव्य कुनै छैन ।

उज्यालाे अनलाइन