‘मन बिनाको धन ठूलो कि धन बिनाको मन ?’

आकाशमा उडि जाने ए चरी भन् ।

दुनियाँलाई नियाल्ने तँ आकाश पनि भन् ।’

विराज नेपालको शब्दमा झापाली संगीतकार टंक बुढाथोकीको संगीत र स्वरमा बाल कलाकार अशोक दर्जी समेतको संयुक्त गायन यसबेला युट्यूवमा भाइरल बनेको छ । सबैको जिब्राेमा झुण्डिदै गएको छ । आर्थिक बिपन्नताको जाँतोमा पिसिएर पढ्ने वातावरण पनि नबनी सडक बालक शहर भौंतारिदै आएको अवस्थामा अशोक भित्रको गायकी प्रतिभाले यसबेला बाहिर आउने अवसर मात्र पाएन, यो गीत रेकर्ड भएर उनको प्रतिभा सबैको सामु लोकप्रिय बन्दै गएको छ । सञ्चार क्लब उर्लावारी, टीभी फोकसका किशोर श्रेष्ठ, डीजे रुपक अशोकलाई बाहिर ल्याउने महत्वपूर्ण पाटो हुन् । अनि बेथेल एकेडेमी उर्लाबारीले निशुल्क रुपमा उनको पढाईको प्रबन्ध गरिदिएको छ । १२ वर्षका उनको भालु खोलाको किनारमा भएको जीर्ण झुप्रोलाई घरको रुप दिन सहयोगी हातहरु जुटिरहेका छन् । उर्लाबारीका पूर्ण वाइवाको अध्यक्षतामा घर निर्माणको योजना बनेको छ । बिहानी कला केन्द्र उर्लावारीले उनलाई निशुल्क संगीत सिकाउने काम थालेको छ । अर्थात मनले बाच्नेहरूकाे जमान बढ्दैछ । धन भन्दा मनको आकाश फराकिलो भएको कुरा थप चरितार्थ हुँदैछ । सृजनाको शक्ति थप उजागर हुँदैछ ।

अशोक सृजनाको जागरणको एउटा प्रभावकारी उदाहरण हुन् । यो सँगसँगै ओझेलमा परेका कैयौं अशोकहरुको प्रतिभा उजागर गर्ने अनि बालसुलभ कोरा दिमागमा सृजना नै ठूलो हो भन्ने कुरा भराएर अशोक जस्तै अशोकहरु जन्माउने अभियानमा पूर्वी क्षेत्र क्रियाशिल बन्दैछ ।

सुनसरीका उर्जाशिल बहुमुखी प्रतिभा विक्रमश्रि चित्रकलामा अशोक जन्माउने अभियानमा छन् । इटहरी उपमहानगरपालिकाको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिकाको इतिहासमा पहिलो पटक थारु लोक चित्रकला (कोहवर पेंटिंग) को एक महिने कार्यशाला थालिएको छ । सृजनालाई प्रोत्साहन गर्ने नगर उपप्रमुख लक्ष्मी गौतमले विक्रमले तयार पारेको “चित्रकलाको प्रारम्भिक पाठ्यक्रम“ को अनावरण गरिन् । ५ बर्ष अगाडी शुरु भएको थारु जतिको कोहबर सम्पदा उत्खनन कार्यले यसबेला मूर्त रुप लिएकोमा विक्रम खुसीले गद्गद् छन् । ललितकला प्रज्ञा प्रतिष्ठान लोक कला बिभाग का प्रमुख एससी सुमनद्वारा कार्यशाला अवलोकन हुने कार्यक्रम बनेको छ । इटहरी मेट्रिक्सको सहआयोजनामा अनुराधा थापा , सरोजा खड्गी, माधवी कर्ण, सुरेश चौधरी र बिक्रमश्रि यस कार्यक्रमका प्रशिक्षक हुन् । मिथिला चित्र जसरी अगाडि बढ्ने क्रममा छ, यताको लोपकै अवस्थामा रहेको थारु लोक चित्रकलाको जगेर्ना र त्यसलाई उजागर गर्ने काममा उसैगरी एउटा निकै महत्वपूर्ण कार्यक्रम बनेको छ ।

पूर्वमा कतै न कतै दैनिक रुपमा मनसँग मन उन्ने अभियानका कार्यक्रमहरु भइरहेका छन् । कति कार्यक्रमहरु जुधेर सर्जकहरु कता जानु र कता नजानुको अवस्था समेत सृजना भइरहेको छ । यसखाले कार्यक्रमको खचाखचको अवस्था सृजनाकर्ममा रमाउनेहरुका लागि खुसीको कुरा हो । मनको आकाश फराकिलो बन्दै गएको छ । प्रत्येक महिनाको पहिलो शुक्रबार कार्यालय छुट्टी भएपछिको समयमा दिँउसो २ बजेबाट मोरङको पथरी शनिश्चरेस्थित एभरेष्ट आर्ट फ्यूजनले तमु वौद्ध गुम्वासँगको सहकार्यमा ‘सृजना चौतारी’ अघि बढाएको छ । यो चौथो श्रृंखलामा पुगेको छ । नगरको सृजनशीलताको इतिहासलाई पुनर्जागृत गर्दै सृजनशील मन जन्माउने अभियानमा छ । यो कविता, गजल, रुबाई सहितका रचना वाचनका साथै गीत प्रस्तुतिको समिश्रणका रुपमा कार्यक्रम अघि बढेको छ । कहिले रचना वाचनमा केन्द्रित त कहिले गीतसंगीतमा केन्द्रीत कार्यक्रम हुने गर्दछ । कहिले चित्रकला त कहिले मूर्तिकलाको श्रृंखला यसको अभियानमा छ । जेठ ७ गते पथरी बहुमुखी क्याम्पसको पर्खालमा सन्देशमुलक पेन्टिङ बनाएर फ्यूजनले आफ्नो नवौं स्थापना दिवश मनाउँदैछ । यो संस्था चित्रकला, मूर्तिकला, अभिनयकला, नृत्यकला, गायनकला र साहित्य क्षेत्रका सर्जकहरु समेटिएको सृजनाको फ्यूजन हो ।

फ्यूजनको जेठ ४ गतेको पछिल्लो श्रृंखलाकै दिन उही समयमा दमकमा उसैगरी गजल मेहफिल जमिरहेको थियो । रुबाई मञ्च नेपालले पूर्वका गजलका उर्जाशिल प्रतिभा निहाङ किराती, तिलाश्री तिम्सिना र कमल मिश्रले गजलको प्रभाव झल्काए । त्यसको लगत्तै भोलीपल्ट नै हेटौंडाकी युवा पुस्ताकी प्रखर कवि शान्तिप्रीय बन्दनाको एकल कविता वाचन भयो । नेपाल लिटरेरी ग्रुपको अगुवाईमा कदम थिएटर र युथ नेटवर्कको सहकार्यमा उनी जमिन । कविताको प्रभावकारिता चखाइन् । नारीको विद्रोह उजाउँदै अन्तत शान्तिको कामनामा ओर्लिइन् ।

सृजनशील गतिविधिलाई क्रियाशिल बनाउने अभियानमा बेलवारी त झन संगठित रुपमा अगाडि छ । त्यहाँ त नगरपालिका अन्तर्गत नै बेलबारी साहित्य विकास समिति नै गठन भएको छ । त्यस संस्थाले भाषा, साहित्य र कलाको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धनको उद्धेश्य समेत राखेर १० औं गणतन्त्र दिवशको अवसरमा जेठ ११ र १२ गते कला साहित्य महोत्सव तय भएको छ । ११ गते साँझ गजलमा जम्ने कार्यक्रम छ । ‘निगुरो’ नामक साहित्यिक कृति प्रकाशन पनि त्यही बेला गरिने छ ।

उता, झोराहाटमा नाटकसँगै मासिक साहित्यिक श्रृंखला ‘गाउँमा कविता’को फरकलाखे अभियान ग्रामिण क्षेत्रको सृजनशीलताका लागि प्रेरणापुञ्ज बनेको छ । पूर्वमा धेरै ठाउँमा धेरै कार्यक्रम हुने गरेका छन् । धरान, विराटनगर, विर्तामोड, इलाम, पाँचथर, धनकुटा, ओखलढुंगा सहितका सवै जिल्लाका गाउँ गाउँसम्म सृजनशील गतिविधि बढिरहेका छन् । गहन एवम् प्रभावकारी कृतिहरु प्रकाशित भएका छन् । सृजनशील मनको बस्ती बसाउने यसखाले गतिविधिमा मन बिनाको धन कमजोर हुन्छ, ठूलो हुँदैन । बरु धन बिनाको मन चाँही ठूलो हुन्छ । अर्थात मन नै सबैभन्दा ठूलो हो । मन नै सृजना हो । सृजना नै ठूलो धन हो । सृजनाबाट मनले बाँच्न सिकिन्छ । यसबेला त्यो चरी र यो आकाशले अशोकलाई मन नै ठूलो हो भनेर जवाफ दिइरहेछन् ।