काठमाडौं । क्युबामा विमान दुर्घटना हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ भने ३ जनाको जीवितै उद्धार गरिएको छ ।

होलुगुइनका लागि उडेको बोइङ ७३७-२०१ एयरलाइन्स हवानामा रहेको जोसे मार्ती अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार दुर्घटना भएको हो ।

विमान स्थानीय समयअनुसार अपराहृन ४ बजेर ८ मिनेटमा उडेको थियो । विमानमा ११० यात्रु र चालक दलका सदस्य सवार थिए ।

बीबीसीका अनुसार, विमानका अधिकांश यात्रु क्युबाका थिए भने विमानका कर्मचारी मेक्सीकोका हुन् ।

क्युबाको कम्युनिस्ट पार्टीको समाचारपत्र ग्रान्मालाई उद्धृत गर्दै बीबीसीले जीवितै उद्धार गरिएका ३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । क्युबाका राष्ट्रपति मिगुयल डियाज केनलले दुर्घटनास्थलको अवलोकन गर्दै दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै दुःख व्यक्त गरेका छन् ।

सो विमान मेक्सिकोको एक चार्टर कम्पनी दमोझको हो जसलाई क्युबाको सरकारी एयरलाइन्सले भाडामा लिएर चलाइरहेको थियो ।