बिहेकै दिन बलिउड अभिनेत्री सोनम कपुरले आफ्नो थर परिवर्तन गरिन् । उनले इस्टाग्राममा आफूलाई सोनम कपुर आहुजा बनाइन् । यसमा धेरैे महिलावादीहरुले कडा प्रतिक्रिया जनाए । हालै एक अन्तरर्वातामा सोनमले यो विषयमा मुख खोलेकी छिन् । उनले नाम वा थर फेर्नु आफ्नो मर्जिको कुरा भएको बताइन् ।

सोनमले पिता र पति आफ्नो जीवनको महत्वपूर्ण व्यक्ति भएको र उनीहरु दुवैको थर धारण गरेको बताइन् । साथै उनले यो पनि थपिन्, ‘मैले थर फेर्दा प्रश्न उठ्छ, आनन्दले फेर्दा किन उठेन ?’ खासमा आनन्दले पनि आफ्नो इन्स्टाग्राम एकाउन्टमा आनन्द एस आहुजा लेख्न थालेका छन् । प्रष्ट छ एसको अर्थ हो सोनम । श्रीमतीको नाम आफ्नो नाममा घुसाएर उनले सायद नारीवादीहरुको मुख बन्द गर्न खोजेको हुनुपर्छ ।

‘मेरो नाम हो, मेरो थर हो, म जे पनि गर्न सक्छु, यसमा अरुले किन टाउको दुखाउने ?’ उनले भनिन् । उनले नारीवादीहरुमाथि पनि कडा प्रहार गरिन् । ‘आफूलाई नारीवादी भन्नेहरुलाई नै थाहा छैन कि नारीवाद के हो, उनीहरुले पहिले नारीवादको अध्ययन गरुन् र मेरो नाम–थरमाथि टिप्पणी गरुन् ।’ उनले भनिन् ।