वि.सं. २०७५ साल जेठ ४ गते। शुक्रबार। इश्वी सन् २०१८ मे १८ तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– तृतीया, ११:५० बजेउप्रान्त चतुर्थी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ। तर गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ हुनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) बौद्धिक कार्यबाट दिगो लाभ उठाउन सकिनेछ। आर्थिक गतिविधिले फाइदा दिनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा मनग्गे धनलाभ हुनेछ। तर, अरूको विषयमा चासो राख्दा दु:ख पाइनेछ। बोलीको गलत अर्थ लाग्न सक्छ, विचार सम्प्रेषण गर्दा राम्ररी विचार पुर्याउनुहोला।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। दिगो काममा फाइदा उठाउने समय छ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा आजको कामलाई बाधा पुग्नेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, पछिका लागि केही वस्तु त्याग्नुपर्ला। केही खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। महत्वपूर्ण कामको जग बसाउने समय छ। समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। लगनशीलताले बिस्तारै उद्देश्यमा पुर्याउन सल्छ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। पहिलेका समस्या दोहोरिनाले उत्साहपूर्वक काम गर्न नसकिएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कारसमेत पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। तर मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। प्रियजनसँगको भेटघाटले दिन भने रमाइलो गरी बित्नेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। विवादास्पद काम सम्पादन गर्नुपर्ला। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य अलि कमजोर रहनेछ। पशुपालन तथा कृषिबाट राम्रो लाभ मिल्नेछ। मनोरञ्जनले अलमल्याउन सक्छ। तापनि, फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ। (नेपाली पात्रो)