मोरङ/बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको स्मृति दिवशका अवसरमा मोरङको बेलबारी ८ स्थित राधानगरमा १ नम्बर प्रदेशकै व्यबस्थित कवर्ड हल र पार्क निर्माणको शिलान्यास भएको छ ।

एम्रियो क्लबको अगुवाईमा एम्रियो खेल मैदानमा बिहीबार आयोजित एक कार्यक्रम बीच बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कवर्ड हल र त्यस बाहिर बन्ने पार्कको शिलान्यास गरेका छन् । शिलान्यासपछि बोल्दै सुवेदीले नगरपालिकाको अगुवाईमा स्रोत जुटाएर नमूना कवर्ड हल बनाउने प्रतिवद्धता जनाएका छन् ।

डेढ करोड रुपैयाँको लागतमा १ सय ८० फिट लम्वाई, ८० फिट चौडाईको कवर्ड हल भित्र भलिबल, बास्केटबल, टेबल टेनिस सहितका सबैखाले इन्डोर खेल खेल्न सकिने क्लबका सल्लाहकार रविन थापाले बताए ।

यसैगरी, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालद्धारा सञ्चालित मदन संग्रहालय उर्लाबारीले मदनको स्मृतिमा ‘मदन भण्डारीको विचार 'मानव अधिकार, सामाजिक न्याय र समृद्धिको आधार’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा मोरङ १ का सांसद घनश्याम खतिवडा, झापा ५ का प्रदेश सांसद अर्जुन राई सहितले मदनको योगदानका बारेमा चर्चा गर्दै मुलुक समृद्धिको आधार नै मदनको बिचारबाट प्रेरित भएर आएको बताए । उनीहरुले एमाले र माओवादी एकीकरणको घोषणाले मुलुकको थप समृद्धि हुने उल्लेख गरेका छन् । एमालेका तात्कालिन महासचिव मदनको संगठन विभाग प्रमुख जीवराज आश्रित सहित ०५० साल जेठ ३ गते रहस्यमय दासढुंगा दुर्घटनामा ज्यान गएको थियो ।