मोरङ/झापाको दमकस्थित सूर्योदय पाठशालाले भारतीय पाठ्यपुस्तक पढाएर राष्ट्रिय स्वभिमानमा आँच पुर्याउने काम गरेपछि युवा संघ झापाले बुधबार विद्यालयमा तालावन्दी गरेको छ ।

युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको टोलीले प्रीन्सिपल सिस्टर म्यागडिलिङ सिंहको कक्ष र प्रशासन कक्षमा ताला लगाउनुका साथै प्रिन्सिपल सिंहलाई राष्ट्रिय झण्डा दिंदै नेपालको स्वभिमानमा आक्रमण नगर्न चेतावनी दिएको छ । भण्डारीले ‘यी यो हो हाम्रो झण्डा’ भनेर प्रिन्सिपललाई बुझाएका थिए । विदेशी शिक्षकहरु निकाल्नु पर्ने र राष्ट्रिय स्वभिमानप्रति पुर्याएको आघात प्रति नेपाली जनतासँग माफी माग्नु पर्ने माग सारेको छ ।

नेपालमा रहेको विद्यालयले भारतीय प्रकाशनका पाठयपुस्तक पढाएर राष्ट्पति, प्रधानमन्त्री लगायतका समग्र विषय र प्रसंगहरु उतैको सिकाइदा नेपाली राष्ट्रिय स्वभिमानमा आँच आएको भण्डारीले बताए । त्यसको प्रतिक्रिया दिँदै प्रिन्सिपल सिंहले त्यसमा आफुहरुले त्यो कुरा सच्याउने जवाफ दिएकी छन् ।

त्यहाँ पढाइएको आधारभूत तहको पुस्तकमा जन्मभूमि भारत, हाम्रो राष्ट्रिय झण्डा भन्दै भारतको उल्लेख भएको र भारतमा पढाइ भए जसरी नै यहाँ पुस्तक पढाईएको पाइएपछि दमक नगरपालिकाले पनि स्पष्टिकरण लिएको थियो । कक्षा १ को कन्भर सेसन र ३ को मेन्टल म्याथ पुस्तकमा त्यस्तो कुरा उल्लेख भएको देखिन्छ । तिमी कुन देशमा बस्छौ भन्ने प्रश्नको संवादमा म भारतमा बस्छु भन्ने छ । अनि हाम्रो राष्ट्रिय झण्डा कुन हो भन्ने संवादमा यो हाम्रो झण्डा हो भनेर भारतको झण्डाको फोटो देखाइएको छ । प्रधामन्त्रीको ठाउँमा नरेन्द्र मोदीको फोटो सामेल छ ।

आक्रोशित रहेका युवा संघका कार्यकर्ताहरुले समस्याको निकास ननिस्किउन्जेल तथा आफूहरुको सहमतिविना ताला नखोल्न पनि विद्यालय प्रशासनलाइ ध्यानकर्षण गराएको थियो ।