सामान्यतया हरीया वनस्पतिहरुले प्रकाश संस्लेषण प्रक्रियाद्वारा हावामा रहेको कार्बनडाइअक्साइड ग्यास र जराबाट सोसेको पानीलाइ सुर्यको प्रकाशको उपस्थितिमा संस्लेषण गरी आफुलाई आवश्यक पर्ने खाना तयार गर्ने गर्दछन् । तर यस धर्तीमा यस्ता कयौं विचित्र प्रकारका वोटविरुवाहरु रहेका छन् । जसले प्रकाश संस्लेषण प्रक्रियाका अतिरिक्त आफुलाई आवश्यक पर्ने पोषक तत्वहरु प्राप्त गर्नका निम्ति भुसुना, कमिला, झिंगा, पुतली, माकुरा जस्ता किरा फट्यांग्राहरु मात्र नभएर छेपारा, ससाना चरा , मुसा, भ्यागुता, छेपारा, चमेरा र सर्प समेतलाइ शिकार गरी आफ्नो आहारा बनाउने गर्दछन् । त्यस्ता वोटविरुवाहरुलाई मांसाहारी वनस्पति भन्ने गरिन्छ ।

पाइन्छन् कहाँ ? प्राय सबै देशका भूभागहरुमा फरक-फरक प्रजातिका यस्ता मांसाहारी वनस्पतिहरु पाइने गर्दछन् । नेपालमा पनि तराइदेखि पहाड सम्मको भूभागमा यस प्रकारका केहि वनस्पतिहरु पाइने गर्दछन् ।

छन् कति ? हालसम्म विश्वमा करिब छ सय प्रजातिका मांसाहारी वनस्पतिहरु पाइएका छन् । तिनीहरुलाई सक्रिय र निस्क्रिय गरी दुइ भागमा बिभाजन गरिएको छ । ति मध्ये पिचर प्लान्ट, भेनस फ्लाई ट्रयाप, पिटफल ट्रयाप, स्न्याप ट्रयाप, ब्लाडर ट्रयाप आदि प्रमुख रहेका छन् । यसका अतिरिक्त काँक्रा, फर्सी, मेवा, घिरौला आदिका फुलहरुले पनि स–साना किराहरुलाई कैद गर्ने गर्दछन् ।

किन खान्छन विरुवाले किरा फट्यांग्रा ? वनस्पतिहरुले आफ्नो वृद्धि विकासका लागि आवश्यक पर्ने खनिज तत्वहरु माटोबाट जरा मार्फत प्राप्त गर्ने गर्दछन् । तर मलिलो माटोको तह पातलो भएको तथा अम्लियपना अत्याधिक रहेका स्थानहरुमा नाइट्रोजनको मात्रा कम्ति हुने गर्दछ । जुन स्थानको माटोमा प्राकृतिक रुपमै नाइट्रोजन जस्ता अति आवश्यक खनिज तत्वहरु अपर्याप्त मात्रामा पाइने गर्दछन् । त्यस्ता ठाउमा उम्रिएका वनस्पतिहरुले कम मात्रामा नाइट्रोजन प्राप्त गर्ने गर्दछन् । त्यस्ता वनस्पतिहरुले नाइट्रोजन परिपूर्ति गर्नका लागि स-साना किरा–फट्यांग्राहरुलाई आफ्नो आहारा बनाउने गर्दछन् । भनिन्छ फुल फुलेपछी विरुवालाइ गर्भाधारण गर्नका निम्ति बढी खनिज तत्वहरुको आवश्यता पर्ने भएकाले मांसाहारी विरुवाहरुले प्राय फुल फुल्ने समयमा नै किरा फट्यांग्रा आदि आफ्नो फन्दामा पार्ने गर्दछन् ।

खान्छन् कसरी ? सक्रिय समूह अन्तर्गत पर्ने मांसाहारी वनस्पतिहरु किराहरुको सम्पर्कमा आउनासाथ आफ्नो फन्दालाइ अति शिघ्र चलायमान पार्दै उक्त कीराहरूलाई कब्जामा लिएर मार्ने गर्दछन् । जस्तो ‘फ्लाई पेपर ट्रयाप’ नामक वनस्पतिको फुलमा रहेका स-साना रेशाहरुको टुप्पामा रहेको गुलियो रस हुने गर्दछ । जब मौरी, पुतली, भुसुना, झिंगा जस्ता किराहरु रस चुस्न त्यहा पुग्छन् तव ति रेशाहरु झट्ट दोब्रिएर ति किराहरुलाई छोपी फन्दामा पार्ने गर्दछन् । तर काँक्रा, फर्सी, मेवा, घिरौला , पिचर प्लान्ट जस्ता निस्क्रिय समुहमा पर्ने वनस्पतिहरुले आफ्ना फूलहरुबाट सुगन्धित वासना, चम्किलो रंग तथा गुलियो प्रकारको रस निकाली भुसुना, पुतली, झिंगा जस्ता स–साना किराहरुलाई आफूतिर आकर्षण गर्ने गर्दछन् । यसरी सोली आकारको फुल भित्र प्रवेश गरेका किराहरु फुल भित्रको रस (नेक्टर) , चिल्लो पदार्थ (म्युसिलेज) तथा परागकण (पोलेन) भनिने पहेलो धुलोमा लट्पटिएर, फुलको वासनाले लठ्ठिएर उड्न नसकी त्यहि कैद हुने गर्दछन् । यस्ता सोलीहरुको भित्री बनावट यति चिल्लो हुने गर्दछ कि त्यसबाट निस्कने जतिनै कोशिश गरेता पनि फन्दामा परेका जीवहरु फुत्कन सक्दैनन् । अन्त्यमा फुलको कब्जामा परेका किराहरु त्यहि मर्ने र त्यहाँ उत्पादन हुने पाचनरसका कारण बिस्तारै सड्ने गर्दछन् । तिनै सड्दै गरेका किराहरुबाट विरुवाले आवश्यक पर्ने नाइट्रोजन लगायतका पोषण तत्वहरु शोषेर लिने गर्दछन् ।

मिलन खरेल जीव शास्त्र विभाग केन्द्रिय प्रविधि क्याम्पस, हात्तिसार, धरान