पथरी । किरात समुदायको महान् पर्व साकेला उभौली मोरङको कानेपोखरीमा सम्पन्न भएको छ । बैशाख १७ गते देखि सुरु भएको साकेला उभौली मोरङमा सोमबार समापन भएको हो । ‘खेतीपाती सप्रियोस,रोगव्याधी नलागोस,प्राकृतिक विपत्ति नपरोस’ भन्ने कामना सहित पितृ तथा भूमिको पूजाआजा गरी समापन भएको हो । कानेपोखरीमा मोरङ र झापाका १८ वटा साकेला सिली नृत्यहरुको सहभागीता जनाएका थिए । दाजुभाइ,दिदीबहिनी,बुबाआमा,इष्टमित्रको सहभागितामा गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाचेका थिए । साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्दै रमाएका थिए । कार्यक्रममा प्रवेश द्रार व्यानर र अतिथिका व्याज समेत किरात एक नम्बर प्रदेश लेखिएको थियो । वक्ताहरुले एक नम्बर प्रदेशको नाम किरात प्रदेश हुर्नेमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष तिलक राईले एक नम्बर प्रदेशको नाम किरात प्रदेश अनिर्वाय हुनु पर्ने बताएका थिए । बिशिष्ट अतिथि पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राई र लेटाङ नगरपालिकाको प्रमुख शंखर राईले समेत समापनको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संचालन किरात राई यायोक्खा मोरङ सचिव कृष्ण कुमार राईले संचालन गरेका थिए भने, कार्यक्रमका अध्यक्ष नविन राईले गरेका थिए ।