दुई साताअघि चन्द्रनारायण लामिछाने भारतमा थिए। वैशाख १४ गते साँझ इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्स र कलकत्ता नाइटराइडर्सबीच खेल थियो। त्यो खेल चन्द्रनारायणका लागि अरु खेलभन्दा बढी नै महत्वपूर्ण थियो, किनकी उनका छोरा सन्दीप दिल्ली डेयरडेभिल्सको टिममा थिए। नेपालका प्रतियोगितामा मैदानमै छोराको खेल हेरेका चन्द्रनारायण आइपिएलमा सन्दीपको खेल हेर्न पाएका थिएनन्।

सन्दीपले बुवालाई टिकट मिलाइदिए। खेल हेर्न चन्द्रनारायण फिरोज शाह कोटला रंगशाला पुगे। तर त्यो दिन सन्दीप दिल्लीको प्लेइङ ११ मा परेनन्।

‘केही थाहा हुन्न बुवा, थाहा भए पनि भन्न मिल्दैन, अनुशासनमा बस्नुपर्छ भन्थ्यो,’ चन्द्रनारायणले भने, ‘एकैचोटी मैदानमा आएपछि मात्र खेल्न पाउने/नपाउने थाहा हुन्छ भन्थ्यो, हिजो पनि टिभीमा ऊ मैदानमा आएको देखेपछिमात्र खेल्ने भएछ भन्ने थाहा पायौं।’

दिल्लीको खेल भएकाले शनिबार राति चितवन, रत्ननगर–८ स्थित सन्दीपको घरमा बुवाआमा र भाउजुले आठ नबज्दै खाना खाइसकेका थिए। सवा आठ हुनुअघि नै उनीहरू टेलिभिजन सेटअघि बसिसकेका थिए।

‘मैदानमा छोरालाई पनि देखेपछि खुब खुसी लाग्यो,’ सन्दीपकी आमा कोपिलादेवी लामिछानेले भनिन्, ‘मलाई विश्वास थियो– उसले राम्रो खेल्छ।’

आमाको विश्वासजस्तै सन्दीपले पहिलो खेलमै राम्रो प्रदर्शन गरे।

उनी पहिलो ओभर बलिङ गर्न आउँदा इंङ्ल्यान्डको राष्ट्रिय टिमका अलराउण्डर मोइन अली र भारतीय ब्याट्सम्यान पार्थिव पटेल क्रिजमा थिए।

सन्दीपले पहिलो ओभरमा दुई रनमात्र दिए। दोस्रो ओभर बलिङ गरेका ट्रेन्ट बोल्टले अलीलाई आउट पारे।

आफ्नो दोस्रो ओभर बलिङ गर्न सन्दीप आउँदा भारतीय कप्तान विराट कोहली क्रिजमा थिए। सन्दीपको पहिलो बलमा कोहलीले रन हान्न सकेनन्। दोस्रो बलमा कोहलीले एक रन लिएपछि पटेलले तेस्रो बलमा चौका हाने।

त्यसको बदला लिँदै सन्दीपले चौथो बलमा उनलाई एलबिडब्ल्यू आउट पारिदिए। त्यो उनको आइपिएलमा पहिलो विकेट थियो।

त्यसपछि आएका दक्षिण अफ्रिकी ब्याट्सम्यान एबि डी भिलियर्सलाई पहिलो बलमै गुग्ली फालेर सन्दीपले बिट गरे।

‘विश्वमै कहलिएका दुई ब्याट्सम्यानलाई बलिङ गर्न पाउनु उसका लागि ठूलो खुसी हो,’ चन्द्रनारायणले भने, ‘जब उसले विकेट लियो, मलाई पनि गर्व लाग्यो।’

हिजोको खेलमा सन्दीप दिल्लीका सबैभन्दा किफायती बलर बने। १८१ रनको स्कोर डिफेन्ड गर्न नसकेको दिल्लीका लागि उनले ४ ओभर बलिङ गर्दा २५ रनमात्र खर्चिए।

छोराले पहिलो खेलमा राम्रो बलिङ गरेको देखेर आमा कोपिलादेवी पनि गदगद भइन्। सन्दीपले क्रिकेट खेल्न थालेपछि नै उनले राम्ररी क्रिकेट बुझ्न थालेकी हुन्।

‘इन्डियामा हुँदा अलिअलिमात्र बुझ्थेँ, सन्दीप नेपाल आएर खेल्न थालेपछि झन् बुझ्न थालेँ,’ कोपिलादेवीले भनिन्,‘पहिला पनि खेलेको टिभीमा देखाउँथ्यो, आइपिएलमा उसको पहिलो खेल भएकाले होला हिजो विकेट लिँदा धेरै नै खुसी लाग्यो।’

चन्द्रनारायणले पाँच वर्षअघि छोराले जे लक्ष्य बोकेर नेपाल आएका थियो त्यो पूरा भएको बताए।

‘आमाबुवा तपाईँहरूलाई नेपालसँग जोडेर चिनाउँछु भनेर आएको थियो, म रिटायर्ड भएर फर्केको पाँच/छ महिनामात्र भयो,’ चन्द्रनारायणले भने, ‘अब ऊ हाम्रोमात्र छोरा रहेन। सबै नेपालीको छोरा भइसक्यो। सम्झँदा धेरै खुसी लाग्छ।’

सन्दीपका बुवाआमा खेल नसकिउञ्जेल टेलिभिजन सेट अगाडि बसिरहे।

हिजोको खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोरले ५ विकेटले जित्यो। टिमले हारे पनि सन्दीपले राम्रो प्रदर्शन गरेर नेपालीको मन जिते।

अब हुने खेलमा पनि सन्दीपले अवसर पाए राम्रो खेल्नेमा उनका बाबुआमा ढुक्क छन्।

‘ऊ पहिलादेखि नै आफ्नो पढाइ र काममा मिहनेती थियो, यहाँ आएर पनि दिदीको घरमा बसेर एकडेमी आएर मिहनेत गर्‍यो,’ चन्द्रनारायणले भने, ‘मिहनेत पनि गर्छ, उसलाई भाग्यले पनि साथ दिन्छ। मलाई पूरा विश्वास छ, पछि पनि राम्रो गर्छ।’

सन्दीपकी आमा कोपिलादेवीलाई छोरालेजस्तै उसका साथीहरूले पनि आइपिएल खेल्न पाएहुन्थ्यो भन्ने लागेको छ।

‘नेपालको क्रिकेट अझ राम्रो होस्,’ कोपिलादेवीले भनिन्,‘सन्दीपले जस्तै उसका साथीहरूले पनि आइपिएल खेल्न पाऊन्।’