धरान । पाँचौं टेष्टी–टेष्टी मिस एसईई–२०१८ को उपाधि सुनाखरी एकेडेमीकी नविना मगरातीले जितेकी छन् । धरान–८ सभागृहमा शनिबार राति सम्पन्न फाइलनमा २९ स्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् । विजयपुर स्कुलकी तङ्नाम तुम्बाहाम्फे फष्ट रनर अप बनिन् । त्यस्तै बालिका स्कुलकी मनिता शर्मा सेकेण्ड रनरअप भइन् । विजेता नविनाले क्राउनसहित ४० हजार रूपैयासहित केके इन्टरनेसनल स्कुलबाट सतप्रतिशत प्लस टुसम्म अध्ययन गर्ने अवसर प्राप्त गरिन् । त्यस्तै फष्ट रनरअप तुम्बाहाम्फेले नगद ३५ हजार रूपैयासहित केकेबाट ५० प्रतिशत छुटमा प्लस टु अध्ययन र शर्माले नगद ३० हजार रूपैयासहित केकेबाटै ५० प्रतिशत छुटमा प्लस टु अध्ययन गर्ने अवसर प्राप्त गरेको आयोजक धरान जेसिज वर्ष २०१८ का अध्यक्ष जेसी अतुल श्रेष्ठले जानकारी दिए । व्यक्तिगत तर्फ बेष्ट ड्रेस, पर्सनालिटी र फोटोजेनिकको टाइटल ग्रिष्मा थापा मगरले जितिन भने वेष्ट वाकको टाइटल बिमला निरौला, मिस एक्टिभमा स्वेता पोखरेल र मिस डायनायिमकमा फष्ट रनरअप तुम्बाहाम्फे घोषित भए । मूख्य निर्णायक मिस नेपाल २०१६ की विजेता अस्मी श्रेष्ठ थिइन् भने अन्य निर्णायकमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका प्रमुख डा. धनबहादुर कार्की, बीपी प्रतिष्ठान प्रा.डा. स्मृति कार्की, पूर्वाञ्चल विश्वविद्यालयको सहायक डिन दिप्ती सुब्बा, हिडेन ट्रेजरका संस्थापक दिभाकरराज कर्णिकार रहेका थिए । विजेताहरूलाई टेष्टी टेष्टी मिस एसईईका मुख्य प्रायोजक क्वालिटी फुडका प्रबन्ध निर्देशक श्याम काब्रा, मूख्य निर्णायक मिस नेपाल २०१६ की विजतो श्रेष्ठ, अध्यक्ष श्रेष्ठलगायतले पुरस्कार वितरण गरे । बैसाख ६ गतेदेखि सुरु भएको प्रतियोगितामा माध्यामिक शिक्षा परीक्षा दिएर बसेका ३० स्पर्धीहरू प्रतिस्पर्धा गरेका थिए । उनीहरूलाई र्यामवक, क्याटवक, आधारभूत पत्रकारिता तालिम, हाइकिङ, व्यक्तित्व विकास, मेकअप, फ्याक्ट्री अवलोकनलगायतका जानकारी गराइएको थियो । जेसिजले सन् २०१४ देखि मिस एसईई प्रतियोगिता गराउँदै आएको छ । विद्यार्थीहरू भित्रको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्याजेन्ट गराउँदै आएको छ ।