नायिका प्रियंका कार्कीले धेरै चलचित्रमा काम गर्दा उनको चर्को आलोचना पनि हुन्छ । बर्षमै दर्जन बढी चलचित्र, म्यूजिक भिडियोमा काम गरेर प्रियंकाले आफूलाई सस्तो बनाएको आरोप पनि उनीमाथि लाग्दै आएको छ । प्रियंका भने नजिकका चलचित्रकर्मीहरुलाई ‘नाई’ भन्न नसक्ने बताउँछिन् ।

प्रियंकाले चलचित्रमा काम पाइरहनुको अर्को कारण पनि छ, उनको शैली । चुलबुले प्रियंका मानिसलाई आफ्नो बनाउन निकै सिपालु छिन् । शनिबार बेलुकी आयोजना भएको ‘शत्रु गते’ चलचित्रको ५१ दिने सफलता कार्यक्रममा प्रियंकाको यो शैली खुबै देखियो ।

कार्यक्रम स्थलमा प्रवेश गर्नसाथ उनले निर्माता किरण केसीसँग अंकमाल गरिन् र सेल्फी खिचिन् । यसपछि, प्रियंकालाई किरण केसीले जुरुक्क बोके र फनफनी घुमाए । क्यामेराको भीड लागेपछि उनीहरुले यो फण्डा अपनाएको वुझ्न गाह्रो पर्दैनथ्यो ।

कार्यक्रम सुरु भएपछि पनि प्रियंकाको यो शैली देखियो । कार्यक्रम संचालन गरिरहेका जितु नेपालसँग उनी अंकमाल नै गरेर उभिइन् । जीतुसँगै केही समय उनले पनि कार्यक्रम चलाइन् । उनलाई चलचित्रमा अभिनय गरेको भन्दै ‘मायाको चिनो’ प्रदान गरियो । उनले, ‘मायाको चिनो’ ग्रहण गर्न स्टेजमा पुग्दा सबैभन्दा पहिले चर्चित कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई झुकेर नमस्कार गरिन् । प्रियंकासँगै उभिएकी अर्की नायिका आँचल शर्मा पनि चुपचाप थिइन् ।

मानिसलाई झिट्टै आफ्नो मनाउन सिपालु भएकै कारण प्रियंकाले धेरै काम पाउने गरेको चर्चा चलचित्र बजारमा चल्ने गर्दछ ।