शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईले नगर अन्तर्गत पथरी उत्तरको विभिन्न धार्मिक मठ मन्दिर एवम् साकेला थानस्थल क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकासका लागि पहल गरिने वताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले किरात राई यायोक्खा नगर समितिले उभौलीका अवसरमा शनिवार आयोजना गरेको साकेला सिली प्रतियोगिताको समापनका अवसरमा बोल्दै सो कुरा बताएका हुन् । यले दुङ ५०७८ को सन्दर्भ समेतको कार्यक्रममा उनले भने ‘यहाँ सालेकाथान सहित विभिन्न जातीय धार्मिक एवम् सांस्कृतिक थलोका रुपमा यही वरीपरी मठ मन्दिरहरु रहेकाले यसलाई धार्मिक पर्यटकीयस्थल वनाउन सकिन्छ ।’

भुल्के जापलादेवी मन्दिर सहितका विभिन्न जात जातिका मन्दिर, गुम्वा, धिमालग्रामथान, सालेका थान सहितका धार्मिक एवम् सांस्कृतिक सम्पदाहरु एकै ठाउँमा रहेकाले त्यसलाई धार्मिक पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्न सकिने उनको धारणा छ । भुल्के मन्दिर सवैभन्दा पुरानो र धारा जडान भएको आकर्षकस्थलका रुपमा हेरिदै आएको छ । त्यसको दक्षिणमा शान्ति सामुदायिक वन उपभोक्ता समूहले त आकर्षक पोखरी निर्माण गरिसकेको छ । त्यस आसपासमा विभिन्न जात जातिका १ दर्जन वढी मन्दिरहरु खडा भएका छन् । यिनै जातीय धार्मिक एकताको सन्देशका लागि नगरले पहल गर्ने कुरा राखिसकेपछि नगर प्रमुख राईले समेत साकेला नाचेर संस्कृति संरक्षणका लागि आफ्नो प्रत्यक्ष सहभागिताको सन्देश दिएका छन् । उनी यायोक्खा नगरका संस्थापक अध्यक्ष समेत हुन् ।

कार्यक्रममा बोल्दै यायोक्खाका केन्द्रीय उपमहासचिव तिलक याम्फु राईले किरात राई जातिको साकेला सहितका विभिन्न जातिका सांस्कृतिक सम्पदा संरक्षणमा सकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । उनले साकेलाथान सहितका विभिन्न धार्मिकस्थल रहेको पथरीको सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने सकिने पनि जनाए । उनले १ नम्वर प्रदेशलाई किरात प्रदेश नामाकरण गर्नु सान्दर्भिक रहेको जनाउँदै सरकारलाई ज्ञापनपत्र समेत दिएको वताए ।

मोरङ र सुनसरीका गरी ९ वटा समूहबीच भएको प्रतिष्पर्धामा इटहरी २० तरहरा प्रथम, बेलवारी ११ लक्ष्मीमार्ग द्धितीय, लेटाङ ३ स्थित किर्तिमान तृतीय र उर्लावारीले सान्त्वना स्वरुप झ्याम्टा, नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ । साकेला सिली प्रस्तुतिसँगै स्थानीयको घुँइचोका साथ त्यहाँ १ दिने मेला समेत लागेको छ ।

कार्यक्रममा, नगर प्रमुख राईका साथै रतुवामाई नगरका प्रमुुख रविन राई, यायोक्खाका केन्द्रीय उपमहासचिव तिलक याम्फु राई, जिल्ला अध्यक्ष नविन राई सहितले पुरस्कार वितरण गरेका छन् ।

अन्नवाली सप्रियोस् र प्राणिजगतलाई शान्ति मिलोस् भन्ने कामनाका साथ वैशाखे पूर्णिमाबाट सुरु गरिने जिल्लाको साकेलाको सामूहिक सिली प्रस्तुति वैशाख ३१ गते कानेपोखरीमा समापन हुँदैछ ।