नयाँदिल्ली/ भारतको कर्नाटक राज्यका एक नेताकी छोरीलाई सर्वोच्च अदालतले पति तथा घरपरिवार त्याग्नका लागि अनुमति दिएको छ । उनलाई जबरजस्ती विवाह गराइएको पुष्टि भएसँगै उनलाई आफ्नो जीवनको तय आफैं गर्न पाउने अधिकार अदालतले दिएको हो । २५ वर्षीय महिलाले घरबाट भागेर आफूलाई जबरजस्ती विवाह गराइएको भन्दै मुद्दा दायर गरेकी थिइन् । नेताले आफ्नी छोरीको विवाह उनको इच्छाविपरीत गर्न लगाएको खुलेको हो । उनलाई आफ्नो प्रेमी छाडी घरपरिवारले रोजिदिएको केटासँग विवाह गर्न भन्दै यातना दिएका थिए ।

महिलाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेसँगै उनलाई दिल्ली महिला आयोगमा सुरक्षा दिएर राखिएको थियो । महिलाले आफू बेंग्लोर गएर आफ्नो इन्जिनियरिङ्ग पढ्न चाहेको बताएकी थिइन् । उनको यो इच्छाअनुसारको पढाइका लागि न्यायालयका अधिकारीहरुले अनुमति प्रदान गरेका हुन् ।

यद्यपि उनलाई उनको घरपरिवार तथा पतिको डर रहेको भन्दै अदालतले उनको पूर्ण सुरक्षाको प्रत्याभूति गराउनका लागि पनि निर्देशन दिएको छ । यसअघि उनको भाइले पनि आमाको पक्ष लिँदै बलात्कारको धम्की दिएका थिए ।

उनका वकिलले उनलाई कुनै पनि किसिमको दबाब तथा अवरोध नहुने बताएका छन् । उनको इच्छाअनुसारको पढाइको लागि सम्पूर्ण प्रमाणपत्र तथा आवश्यक कागजातहरु पनि उनलाई प्रदान गरिनुका साथै उनको व्यक्तिगत जीवनमा कुनै पनि किसिमको हस्तक्षेप हुनु नहुने भन्दै अदालतसमक्ष माग गरेका थिए ।

]