काठमाडौं/ रेखा थापाको फिल्म निर्माण कम्पनी 'रेखा फिल्मस् 'को ब्यानरमा निर्माण हुने फिल्म 'मालिका'को छायांकन सुरु भएको छ।

सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै फिल्मको सुटिङ सुरु भएको हो। बालुवाटारबाट छायांकन सुरु गरिएको यस फिल्मलाई रेखा आफैँले निर्देशन गर्दैछिन्। छायांकनको पहिलो दिन रेखा र नरबहादुर कार्कीले बालुवाटारमा सिन दिइरहेका छन्। करिब १० दिनको काठमाडौं सुटिङपछि निर्मण युनिटबाहिर जानेछ। यस फिल्मको कोहलपुर जाजरकोटमा समेत छायांकन हुनेछ।

'मालिका'मा रेखा र नरबहादुरसँगै जाजरकोटकी १४वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ। रेखाको आफ्नै कथा रहेको फिल्म व्यक्तिको सोच परिवर्तनको विषयमा आधारित रहनेछ। 'मालिका'लाई लक्ष्मी पूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने रेखाको लक्ष्य छ। फिल्ममा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ। हिम्मतवालीपछि रेखा मालिकामार्फत निर्देशनमा फर्किएकी हुन्।