डियर डाक्टर साहेब ! तपाई हारेर होइन जितेर जानुहुनेछ

निरू त्रिपाठी

तपाईं सम्बन्धित प्रकाशित समाचार पढेँ। मर्न लागेको मान्छेले असत्य बोल्दैन भन्दै केही बोल्नुभयो, आफ्नो रोग खोल्नुभयो। तपाईं आफ्नो रोग अब सन्चो हुँदैन भन्ने कुरामा विश्वस्त भएर नै यी सबै कुराहरू मिडियामा ल्याउनुभयो।

डा उपेन्द्र देवकाेटा

एकछिन झूट बोलेर निको भैहाल्छ नि किन पिर गर्नुरु भनेर सान्त्वना दिने परिस्थिति पनि छैन अब। तपाईंले टप स्पेसलिस्टसँग भेट्नुभयो, रोगको रिपोर्ट आफैंले बुझ्नुभयो र अन्त्यमा खासै कुनै उपाय नभएको अवस्थामा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमा नै देश फर्केर बाँकी जीवन बिताउने निर्णय पनि गर्नुभयो।

तपाईंलाई थाहा भइसक्यो यो रोगको कारण नै तपाईंको मृत्यु हुनेछ, तर यतिमात्रै थाहा पाइरहनुभएको छैन कि यो बाँकी जीवन केही वर्ष, केही महिना, केही दिन अथवा केही घण्टा मात्रै छ भनेर।

यस्तो अवस्थामा म तपाईंलाई खुसी भएर मात्रै होइन गर्वको साथ बाँच्नु भन्छु। अहिलेसम्म बाँचेको जीवन तपाईंको सार्थक भयो भनेर मृत्युलाई पनि सुनाउँदै जानुहोस्। आउँदै गरेको मृत्युलाई यसरी भव्य स्वागत गर्नुहोस् कि स्वयमं मृत्यु नै चकित भई तपाईंलाई लाने कि नलाने भन्ने कुरामा दोधार होस्।

यदि यो दोधारमा मृत्युले तपाईंलाई लगेछ नै भने एकचोटी हाँसेर यो संसारलाई हृदयदेखि धन्यवाद दिनुस् अनि उसँग मस्तमगन भई जानुहोस्। डा. साहेब, यदि अर्को लोक छ भने त्यहाँ जाँदा पनि तपाईं मेरो यही असल मानवीय गुणहरूको उपयोग भरपूर गर्छु भनी अठोट लिएर जानुहोस्। यो निश्चित छ तपाईं जाँदै गर्दा लाखौँ मनहरू रोलान्, लाखौँ आँखाहरू रसाउँलान्, लाखौँ जीवनहरू मूर्च्छित होलान् तर तपाईं यी कुराहरू सोचेर कमजोर नहुनुहोस् बरू यो सबै शोकलाई शक्तिमा बदलेर जानुहोस्।

तपाईंले भन्नुभयो क्षेत्रप्रताप अधिकारीले लेख्नुभएको गीत ‘जीन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ’, भन्नेको अर्थ बल्ल थाहा पाएँ।

जीन्दगीमा धेरै कुरा गर्न बाँकी छ भन्दाभन्दै सोच्दासोच्दै यदि मृत्यु पनि बाँकी छ भनेर मनन गरिदिने हो भने सायद मानिसहरूबाट धेरै नै पुण्यका कामहरू गरिन्थे होला र अन्त्यमा मृत्यु पनि सहज र सान्दर्भिक लाग्थ्यो होला।

हिजोको दिनमा तपाईंले उपचार गरिरहँदा हजारौँ मानिसहरूलाई लान मृत्यु पर्खिरहेका थिए होला तर ती मृत्युहरूलाई तपाईंले च्यालेन्ज गरी ती मानिसहरूलाई बचाएर ल्याउनुभएको थियो। तपाईंले एउटा मृत्युलाई निराश बनाएर पठाउनु भए पनि हजारौँ जीवनहरूमा जीवन भरिदिनुभएको थियो।

तपाईंले कतिजनालाई टुहुरो हुनबाट बचाउनुभयो, कति जनालाई विदुवा र विदुर हुनबाट बचाउनुभयो, कतिको भाइ बचाउनुभयो, कतिको साथी बचाउनुभयो, कतिको शुभचिन्तकहरू बचाउनुभयो, कतिको छोराछोरी बचाउनुभयो। तपाईं हरेकको औषधि बन्नुभयो तर हाम्रो दुर्भाग्य भनेको तपाईंको रोगलाई निराधार गर्ने औषधि यो संसारमा बनेन। तर पनि खुसी लागेको छ तपाईं विचलित नभई मृत्युप्रति आक्रोशित नभई सांसारिक रिति बुझी जान तयारीमा बसिरहनुभएको छ।

कत्ति पनि नडराई, कत्ति पनि विचलित नभई, आउँदै गरेको मृत्युलाई उत्सवको रूपमा लिइरहनु भएको छ र तपाईंको मृत्युप्रतिको जित नै यही हो।

डाक्टर साहेब ! एकचोटी गाउँमा एक जना आमा आफ्नो छोरा मर्‍यो भनेर शोकाकुल अवस्थामा रूँदै हिँडिछिन्। गाउँलेहरूले उसको अवस्था देख्न नसकेपछि भगवान बुद्धकहाँ जान आग्रह गरेछन्। छोराको लास बोकेर आमा बुद्धको अगाडि धेरै रोइछिन्। बुद्धको अनुयायीहरू पनि उनको आँसु देख्न नसकेर भक्कानिएछन्। तर बुद्धले ती आमालाई हरेक घरमा जानु र सोध्नु कि यो घरमा कसैको मृत्यु भएको छ कि छैन। यदि कसैको पनि मृत्यु नभएको त्यस्तो घर पत्ता लगाएर आएमा छोरालाई बचाइदिने भनेछन्। ती आमा खुसी हुँदै हरेकको घरमा सोधिछन्। तर हरेकको घरमा कोही न कोहीको मृत्यु भएको समाचार पाइछन्। त्यसपछि बल्ल उनले जन्मपछि मृत्यु निश्चित भएको कुरा बुझिन्छन्।

हो, तपाईंले बाँकी जीवन आफ्नो घर परिवार आफन्तसँग बिताउने निर्णय गर्नुभयो तर मानवीय रूपको उहाँहरूलाई पनि यी कुराहरू सम्झाइरहनु बारम्बार कि तपाईं जाँदाजाँदै तपाईंका लागि बगेका उहाँहरूको आँसु पछि शक्तिमा बदलियोस्।

म तपाईंले गर्नुभएको एउटा जटिल शल्यक्रियाको घटना स्मरण गराउन चाहन्छु। यो धेरै वर्ष अगाडिको घटना हो। मलेखुमा सायद तपाईंले बसन्त सिलवाल नाम गरेको व्यक्तिलाई चिन्नुहुन्छ होला। उहाँ तपाईंको नाम धेरै लिनुहुन्थ्यो। विस्तारै तपाईंको नाम सबैले लिन थाले। एक हिसाबले भन्ने हो भने तपाईं मलेखुमा एकदमै ‘पपुलर’ हुनुभयो। मैले पनि तपाईंलाई त्यतिखेर चिनेँ। सबैले भन्थे, ‘बसन्तको लागि त डा।उपेन्द्र देवकोटा भगवान नै भएर आए।’ गाउँलेहरूले भनेको यो शब्द अझ मेरो कानमा गुन्जिरहन्छ। सायद मैले पनि त्यो बालशुलभ मनस्थिति देखिनै तपाईंलाई भगवान भनेर चिनिएँ।

बसन्त सिलवाल मामा नराम्ररी मोटरसाइकल एक्सिडेन्ट पर्नुभएछ। उहाँको टाउकोमा एकदमै नराम्ररी चोट लागेको थियो रे। भनिन्छ उहाँको गिद्धिहरू पनि रोडमा देखिएको थियो रे। उहाँको एक्सिडेन्ट यति भयानक थियो रे कि उहाँलाई कसैले बाँच्छ पनि भनेको थिएन रे। तर उहाँको शल्यक्रिया तपाईंले गर्नुभएछ र सफल भएछ।

बसन्त सिलवाल मामाको घर हुँदै मेरो जानुपर्थ्यो। म बाटोमा जाँदा उहाँलाई बाहिर खाटमा बसिरहेको देख्दा मामा भन्दा पनि बढी डा. उपेन्द्र देवकोटाले बचाएको एउटा मान्छे जसले अझ बाँचेर एक युग हेर्ने अवसर पायो भनेर सम्झिन्थेँ। दिनभरी घाममा खेलेर मलाई टाउको दुख्यो भने भन्थे डा। उपेन्द्र देवकोटामा लानुहोस्। घरमा सबै मुसुमुसु हाँस्थे अनि सिटामोल खान दिन्थे। बसन्त मामा मात्रै होइन पछि मैले नेपालमा र यही मेल्वर्नमा पनि तपाईंले शल्यक्रिया गरेर बचाएका धेरै मानिसहरू भेटेको छु र ती सबैले तपाईंलाई भगवान मान्छन्।

तर डा. साहेब तपाईं त्यस्तो भगवान होइन जसले मृत्युको भयले समुन्द्र मन्थन गरेर अमृत निकालेका थिए। सधै अमरअजय होस् भनी अनेक लडाइँ गरी, तछाडमछाड गरी, जालजेल गरी अमृत खाइ बाँचेका थिए। तर, तपाईं त्यस्तो मानवरूपी भगवान हो जो ती भगवानहरू भन्दा धेरै नै अघि हुनुहुन्छ। तपाईंले मृत्युको सत्यलाई बुझ्नु भएको छ र एउटा भगवान मरे अर्को भगवान जन्मन्छ भनी सोचिरहनुभएको छ।

आज तपाईंको यो रोगको बारेमा थाहा पाउनेहरूले तपाईंको लामो आयुको लागि दीप प्रज्वलन गरेका छन्, तपाईंले बचाउनुभएको हजारौँ जीवनहरू काललाई नलान याचना गर्दैछन्। यसरी तपाईंले जीवनमा धेरै नै राम्रो काम गरेकोले तपाईंको मृत्यु अब ढुङ्गा जस्तो गरूङ्गो नभई सिमलको भुँवाझै हलुका हुनेछ र सबैले कालान्तरसम्म सम्झिनेछन्।

हरेक आमाबुबाहरूले आफ्नो छोराछोरीलाई तपाईंको उदाहरण दिँदै तपाईंजस्तै बन्न प्रेरित गर्नेछन्। मृत्युले तपाईंको शरीर त लैजाला तर लाखौँ करोडौं मानिसहरूमा अमित छाप गरी बस्नुभएको तपाईंलाई कसरी लानसक्छ यो मृत्युले ?

भोलि तपाईंलाई जितेर लगेकोमा मृत्यु उत्सव मनाउँला तर हामी हाम्रो मनबाट तपाईंलाई लान नसकेकोमा मृत्युलाई खिस्साउनेछौँ।

डाक्टर साहेब, तपाईंको मृत्यु एकदिन निश्चित छ भन्ने कुरामा हामी निश्चित थियौं तर, तपाईंलाई पनि रोग लाग्छ र भन्ने कुरामा चाँही हामी सबै अनिश्चित भयौं। त्यही अनिश्चित कुराले दिइरहेको पीडा हो अहिले हामीलाई।

तपाईंको कुराहरू पढिरहँदा तपाईंलाई आफू मर्दैछु भन्ने पीरले भन्दा पनि सायद बिरामीहरूको सेवामा फर्कन सक्ने छैन भन्ने चिन्ता लागेको कुरा दर्साउनुभएको थियो।

तपाईंलाई यी कुराले सताएको देख्दा अझ प्रस्ट देखाउँछ कि तपाईं आफ्नो काम र दायित्वप्रति कति निष्ठावान हुनुहुन्छ भनेर। अनि तपाईंले मृत्यु अवश्यम्भावी छ भन्दै मृत्युप्रति सरल र सकारात्मक भएको देख्दा समाजमा अमर रहन्छु भन्ने सोचको व्यक्तिहरूलाई यो दृश्य एउटा गतिलो पाठ रहेको मेरो अनुभूति रहेको छ।

त्यसैले, डियर डाक्टर साहेब तपाईं हारेर होइन जितेर जानुहुनेछ।