चलचित्र ‘हिम्मतवाली’ निर्माण गर्दा नायिका रेखा थापा र निर्देशक श्याम भट्टराइको सम्बन्ध निकै सुमधुर थियो । श्यामले चलचित्रको छायांकन पनि सुरु गरे । तर, छायांकनको बीचमै रेखा र श्यामविच मनमुटाव सुरु भयो । पछि, श्यामले चलचित्र छाडे ।

श्यामले चलचित्र छाड्दै गर्दा रेखाले उनलाई निकालेको अभिव्यक्ति दिइन् । श्यामले भने रेखाले अरुको कुरा सुनेर आफूसँग झगडा गरेको बताए । श्याम अहिले अमेरिकामा छन् ।

श्याम मात्र होइन, नायिका रेखा थापाको उनीसँग काम गर्ने प्राय निर्देशकसँग सुमधुर सम्बन्ध कायम रहन सकेको छैन । कलाकारसँग त उनको मनमुटाव परेको घटना अक्सर सुनिन्छ ।

रेखाले चलचित्र ‘रुद्रपि्रया’ असफल भएपछि आफ्नै होम प्रोडक्शनमा नयाँ चलचित्रको निर्माण गर्ने तयारी गरिन् । यो चलचित्रको नाम ‘लाल मस्तिष्क’ राखिएको थियो । यो चलचित्रलाई सम्झना रौनियारले निर्देशन गर्ने पनि पक्का भयो ।

तर, पछि चलचित्रको नाम परिवर्तन गर्दै ‘मलिका’ राखियो । चलचित्रका लागि कलाकार फाइनल गर्ने काम भैरहेको छ । तर, चलचित्रको नाम परिवर्तन भएसँगै सम्झनाले यो प्रोजेक्टबाट हात झिकेको बताएकी छिन् । उनले, व्यवसायिक कारणले यो प्रोजेक्टबाट हात झिकेको स्टाटस लेखेकी छिन् ।

सम्झना र रेखाको सम्बन्ध पहिले पनि सुमधुर थिएन । पछि उनीहरु नजिक भएका थिए । तर, यो चलचित्रमा काम गर्दै गर्दा उनीहरुविच मनमुटाव भएको प्रष्ट वुझ्न सकिन्छ ।

रेखाको सम्बन्ध किन आफ्नै सहकर्मीहरुसँग गाढा हुन सक्दैन, यो वुझिनसक्नु छ । अब, यो चलचित्रको निर्देशन रेखा आफैले गर्छिन् या अरु कसैले गर्छन् त्यो प्रष्ट भएको छैन । रेखाले यो बिषयमा समय आएपछि बताउने भन्दै अहिले केही पनि प्रतिक्रिया दिन चाहेकी छैनन् ।