लखनउ/ भारतको उत्तरप्रदेशस्थित सीतापुर जिल्लामा मानवतालाई नै कलंकित गर्ने एक घटना प्रकाशमा आएको छ ।

अधिकारीहरुका अनुसार ५० वर्षीय एक पुरुषले सामूहिक बलात्कारका लागि साथीहरुलाई आफ्नी छोरी ‘उपहार’ दिएर आफूसमेत बलात्कारमा संलग्न भएको आरोपमा प्रहरी कारवाही अघि बढाइएको छ ।

आरोपी पिताको उमेर ५० वर्ष रहेको बताइएको छ । प्रहरीका अनुसार १५ अप्रिलका दिन मेलाबाट घर फर्किएपछि ती पिताले आफ्ना साथी मानसिंहलाई घरमा बोलाएका थिए । उनले आफ्नी छोरीलाई मानसिंहका साथ मोटरसाइकलमा पठाएका हुन् ।

मानसिंहले ती महिलालाई आफ्ना मित्र मेराजको घरमा लगेको बताइन्छ । पीडित महिलालाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार मेराजको घरमा पितासहित मानसिंह र मेराजले उनलाई १८ घण्टासम्म बन्धक बनाएर बलात्कार गरेका थिए ।

सोमबार साँझ उनी त्यहाँबाट भाग्न सफल भएकी थिइन् । घर पुगेर उनले आमालाई घटनाबारे जानकारी गराएपछि प्रहरीमा उजुरी गरिएको बताइएको छ ।

प्रहरीका अनुसार पीडितको पिता र मानसिंह भने फरार छन् । अर्का आरोपी मेराजलाई भने प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिलाको १६ वर्ष अघि विवाह भएको थियो । विवाहको दुई वर्षमै पतिसँग विवादपछि उनी पिताको घरमा आएर बसेकी हुन् ।

गत वर्ष नोभेम्बरमा उनले पितामाथि बलात्कारको आरोप लगाएकी थिइन् । त्यसपछि उनी १४ वर्षीय छोराका साथ छुट्टै बस्दै आएकी थिइन् । गत वर्ष बलात्कारको आरोपमा पितालाई प्रहरीले गिरफ्तार गरेको थियो । तर गत फेब्रुअरीमा उनी जमानतमा रिहा भएका थिए ।

एजेन्सी