कुनै महिलाहरू योनिबाट सेतो पानी बग्ने समस्याले ग्रस्त हुन्छन् । योनि र पाठेघरमा हुने सङ्क्रमणले महिलामा यस्तो समस्या देखिन्छ । सेतो पानी अर्थात् सामान्य खालको योनिस्राव ‘योनिरस’ मासिक चक्रअनुसार फरक–फरक हुन्छ । सामान्य प्रकारको योनिरसको बहाव पनि व्यक्तिपिच्छे फरक हुन सक्छ ।

पाठेघरको मुखको क्यान्सरको शङ्का निवारण गर्न वा प्राकृतिक रूपमा परिवार नियोजन गर्न चाहने तथा परिवार नियोजनका अन्य साधन अपनाउन नचाहने दम्पतीका लागि योनिस्रावको जाँच एउटा राम्रो विकल्प हो । महिलाको शरीरमा रहेको इस्ट्रोजेन हार्मोनको प्रभावले योनिरसको उत्पादन हुन्छ ।

कुनै कारण वश इस्ट्रोजेन हार्मोनको उत्पादन बढ्न गएमा यसले योनिद्वारको बाह्य सतह र पाठेघरको मुखको ग्रन्थिमा असर गरी योनिस्रावको बहाव बढाउँछ । कतिपय अवस्थामा योनिरसको अधिक उत्पादन शरीरको स्वाभाविक उत्पादन नै हो ।

यौन उत्तेजनाको बेला योनिद्वारको दुवैतिरको बार्थो्लिन ग्रन्थिबाट अधिक मात्रामा ग्रन्थीरस उत्पादन भई तथा गर्भवती बेलामा इस्ट्रोजेन हार्मोनको अधिक उत्पादनले रगतको बहाव बढ्न गई अधिक योनिस्राव हुन्छ । यस्ता अवस्थाको सुरुवात यौनजन्य फिल्म हेर्दा, यौनसम्बन्धी कुरा सोच्दा, पत्रपत्रिका पढ्दा यौन उत्तेजना बढ्न गई हुने गर्छ ।

पाठेघरको मुखको बाह्य सतह ताछिएर, पाठेघरको मुख जीर्ण तवरले सुन्निएर, वा त्यसमा सानो मासु पलाएर पनि योनिस्राव बहन्छ । पाठेघर झर्ने (आङ् खस्ने) समस्या भएका, पाठेघर पछाडि फर्किएका, पाठेघरको मुखमा जीर्ण प्रकारले सुन्निएमा, पिलास चक्कीको सेवन गरेका महिलाको यौनांगमा रगत बहाव बढ्नाले तथा लामो समयसम्म बिरामी हुँदा योनिद्वारको बाह्य तह अत्यधिक झर्नाले पनि बढ्ता मात्रामा योनिरस बग्न सक्छ ।

क्यान्डिडा वा मोनिलियासिस (फङ्गाई) को सङ्क्रमणमा दहीजस्तै सेतो छोक्रा–छोक्रा योनिस्राव हुन्छ भने ब्याक्टेरियल भजाइनोसिसमा खैरो खालको कुहिएको मासुजस्तै गन्हाउने तर नचिलाउने, ट्राइकोमोनास नामक परजीवीको सङ्क्रमणमा हरियो वा पहेँलो खालको योनिस्राव, पाठेघरको मुखको सुन्निएमा पानीजस्तो सङ्लो योनिस्राव, योनिद्वारमा कुनै प्रकारको बाह्य वस्तु अड्किँदा गन्हाउने खालको पीपजस्तो रगत मिसिएको योनिस्राव हुन्छ । भने यो समस्या बाट मुक्त हुन यी उपाय अपनाउनुस् तीतेपातीको पातबाट निकालिएको रस चिलाएको ठाउँमा दल्यो भने चिलाउन कम हुन्छ ।

महिलाको सेतोपानी बग्ने समस्याका लागि यो अतिनै उपयुक्त औषधी मानिन्छ । तीतेपातीलाई सफा गर्ने र त्यसको रस निकालेर गुप्तांगमा दल्ने । सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ । सकेसम्म दैनिक रूपमा अन्डरवेयर परिवर्तन गर्नुपर्दछ । योनि सफा गर्दा कहिल्यै पनि योनिमा साबुन प्रयोग गर्नु हुँदैन । पानी बग्ने समयमा योनि चिलाउने, पोल्ने, योनिबाट निस्केको पानी गनाउने भयो भनेचाहिँ चिकित्सककहाँ जाँच गर्न गइहाल्नुपर्छ । यस्तो समस्याबाट बच्नका लागि शारीरिक सम्पर्क गर्ने विषयमा पनि ध्यान दिनुपर्दछ ।

धेरै मानिससँग शारीरिक सम्पर्क गर्दा योनिमा सङ्क्रमण हुन हुँदा यसमा नियन्त्रण गर्नुपर्दछ ।मधुमेह भएका कतिपय महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । यस्ता महिलामा रोगसँग लड्ने क्षमताको कमी हुन्छ र सेतो पानी बग्ने समस्या हुन्छ । सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ ।

एजेन्सी