काठमाडौं । स्पेनिस ला लिगामा रोनाल्डोले गरेको उत्कृष्ट गोलबाट रियल मड्रिड हारबाट जोगिएको छ । बुधबार राति भएको खेलमा रोनाल्डोले ८७ औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियल मड्रिडले बिलबाओसँग १-१ गोलको बराबरी गर्न सफल भयो ।

खेलमा अग्रता भने बिल्बाओले १४ औं मिनेटमा लिएको थियो । इनाकी विलियम्सले बिल्बाओलाई अग्रता दिलाएका थिए ।

गोल फर्काउन अन्तिम समयसम्म रियल मड्रिडलाई संघर्ष गर्नुपर्‍यो । ८७ औं मिनेटमा रोनाल्डोले गोल गरेपछि रियल हारबाट जोगियो । लुका मोड्रिकले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको बललाई रोनाल्डोले जाली चुमाएका थिए ।

रोनाल्डोले यो सिजनमा ३९ खेलमा ४२ गोल गरेका छन् ।

खेलको अन्तिम तीन मिनेट जोगिन नसक्दा बिलबाओ अंक बाँड्न बाध्य भयो ।

३३ खेलको समाप्तीमा ६८ अंक जोडेको मड्रिड तालिकाको तेस्रो स्थानमा यथावत छ । समान खेल खेलेको बार्सिलोना ८३ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको एथलेटिको मड्रिड ७१ अंकसहित दोस्रो स्थानमा छ ।