पानवारी । यातायात व्यवस्थापन कार्यविधी निर्देशिका २०६० लाई सरकारले संशोधन गरी कार्यान्वयनमा ल्याएपछि यातायात व्यवसायीहरुले असहमती राख्दै आन्दोलनको घोषणा गरेका छन् । ‘यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समिति १ नं. प्रदेश’ले बुधबार धरान स्थित पूर्वाञ्चल यातायात व्यवसायी संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आन्दोलनको कार्यक्रम घोषणा गर्दै आन्दोलन मूल समिति १ नं. प्रदेश संयोजक सरोज श्रेष्ठले भने –‘सरकराले निम्न मध्यम वर्गिय स्वदेशी पूजीलाई तहसनहस पारेर विदेशी दलाल पुजीपतिहरुको बोलवाला काम गराउने उदेश्यले अनिवार्य कम्पनीमा दर्ता हुनुपर्ने प्रावधान ल्याउन लागेको छ ।’ उनले भने सरकारले ल्याएको निर्देशिका काठमाडौलाई मात्र हेरेर ल्याएको छ यसले देशभरीको प्रतिनिधित्व गर्न सक्दैन । उनले भने सवारीमा बजाउने संगीतमा लगाएको रोयल्टी, २० वर्षे पुरानो सवारी साधन विस्थापित गराउने, पञ्जीकरण जस्ता बुदाहरु व्यवहारीक नभएको बताए । उनले भने सार्वजनिक सवारीलाई जबरजस्ती गीत बजाएपनि नबजाएपनि कर तिराउने कुरा ठिक होइन, त्यस्तै गरी सवारीको वर्गिकरण नगरी एकमुष्ट रुपमा सबै सवारीको आयु २० वर्ष तोक्ने, साना व्यवासायी मार्ने गरी अनिवार्य ५ वटा गाडी हुनुपर्ने र प्रालिमा दर्ता गर्नुपर्ने प्रावधानहरु कुनैपनि हालतमा व्यवहारिक नभएको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष हिरा उदासले व्यवसायीलाई सिण्डिकेटको नाममा सरकारले बदनाम गरिरहेको बताए । उनले भने ‘सरकारले जिम्मेवारीबाट पन्छिएर यातायात अस्तव्यवस्त पार्न लागेको छ । हामिले सिण्डिकेट गैरकानुनी हो भन्दै आएका छौ । सिण्डिकेट होइन सरकारले तोकिदिएको भाडादर र रुटमा नै सवारी चलाएका छौ, त्यसलाई व्यवस्थित गर्न हामीले समय तालिका मात्र बनाएका हौ, पालैपालो गरेर सवारी कुदाउने व्यवस्था मिलाएका हौ ।’ उनले अहिले १ नं. प्रदेशभरी कहिपनि सिण्डिकेट कसैले नलगाएको दाबी गर्दै भने व्यवसायीले व्यवस्थित समय तालिका नमिलाउदा धरानमा टेम्पो र सिटि रिक्सा अस्तव्यस्त भई त्यसको व्यवस्थापन अहिले निकै पेचिलो भएको उदाहरण समेत दिएका थिए । आन्दोलनको घोषणा यातायात व्यवसायीहरुको छाता संगठनहरु नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएसनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । जस अन्तर्गत वैशाख ७ गते प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, ८ गते सम्पूर्ण सार्वजनिक सवारी साधानमा कालो झण्डा राख्ने, ९ गते यातायात संग सम्बन्धित नेताहरुलाई ज्ञापन पत्र बुझाउने, १० र ११ गते प्रदेशमा कोण सभा गर्ने, १३ र १४ गते समय तालिका विना सवारी चलाउने, लगायत २१ गते सर्व सार्वजनिक सवारी साधन ग्यारेज तथा घरमा थन्क्याउनेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।