जनकपुरधाम/ सुशासन कायम गर्न भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले कार्यालयमा अनुपस्थित हुने आफ्नै श्रीमतीलाई कारबाही गरेका छन् ।

छड्के अनुगमनका क्रममा भंगाहा– ५ सीतापुरस्थित स्वास्थ्यचौकीमा कार्यरत श्रीमती उषादेवी साह दुईदिन कार्यालयमा उपस्थित नभएको पाइएपछि उनले हाजिरीमा रातो मसीले गयल गराएर कारबाही गरेका हुन् ।

‘घरमा आएपछि विवाद त भयो, तर कि तपाईं समयमा कार्यालय जानुपर्‍यो, होइन भने हामी दुईमध्ये एकले त राजीनामा दिनैपर्छ भनेर सम्भाएँ,’ साहले भने, ‘यदि मैले आफ्नै श्रीमतीलाई कारबाही नगरेको भए अन्य कर्मचारीलाई चित्त बुझाउन सकिन्नथ्यो ।’

साहले आफ्नै कार्यालयका निमित्त प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखापाल रामपरीक्षण पण्डित र नायब सुब्बा रामतेज भण्डारीलाई स्पष्टिकरण सोधेका छन् ।

‘२५ चैत २०७४ का दिन १० बजे कार्यालयमा हाजिर भई कार्यालय सञ्चालन गर्नुपर्नेमा १ घण्टा ४५ मिनेट ढिला गरी कार्यालयमा हाजिर भएको हुँदा तपाईंलाई स्पष्टिकरण सोधिएको छ,’ उनले कर्मचारीहरूलाई थमाएको स्पष्टिकरण पत्रमा भनिएको छ, ‘विगतमा पनि समयमा हाजिर नभएकाले पटक–पटक मौखिक संकेत गराउँदा समेत अटेरी गर्नुको कारण के हो ? तपाईंलाई निजामति नियमावलीबमोजिम कारबाही किन नगर्ने ?’

विद्यालय र स्वास्थ्यचौकीमा छड्के

मेयर साहले आफ्नो नगरपालिका भित्रका विभिन्न विद्यालय र स्वास्थ्यचौकीमा छड्के अनुगमन गरी कार्यालय समयमा अनुपस्थित हुनेलाई स्पष्टिकरण सोधेका छन् ।

अनुगमनका क्रममा विभिन्न विद्यालयमा प्रधानाध्यापक नै उपस्थित नहुने, समयअगावै कार्यालय छाडेर जाने, नियमित अध्यापन नहुने लगायतको अवस्था देखिएको थियो । यसरी बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने शिक्षकहरूलाई स्पष्टिकरण सोधेको उनले बताए ।

अनुगमनका क्रममा उनले कतै एकदमै न्यून दरबन्दी र केहीमा त एक जना शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेको पाए ।

‘कतै प्रावि शिक्षकको भरमा मावि सञ्चालन भइरहेको छ, कतै एकजना शिक्षकले विद्यालय चलाएका छन्,’ उनले भने, ‘शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत भेटेर शिक्षक समायोजन र विषयगत दरबन्दी मिलान गरिदिन भनेको छु, हेरौं उहाँले कतिसम्म सहयोग गर्नुहुन्छ ।’ आफ्नो नगरपालिका शिक्षामन्त्रीकै निर्वाचन क्षेत्रमा पर्ने भएकाले सहयोग पाउने उनको आशा छ ।

उनले स्वास्थ्यचौकीहरूमा पनि यसैगरी छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा स्वास्थ्यकर्मीहरूसमेत समयमा उपस्थित नहुने गरेको, जुनसुकै बेला आए वा नआए पनि समयमै उपस्थित भएको भनेर हाजिरी गर्ने गरेको पाइएको उनले बताए । यस्तो अवस्थामा भेटिएकाहरूलाई स्पष्टिकरण सोधर एकपटकका लागि नसियत दिएर छाडेको उनको भनाइ छ ।

‘अनुगमनपछि बिद्यालय र स्वास्थ्यचौकीमा केही सुधार भए पनि पूर्ण सुधार हुन सकेको छैन’, मेयर साहले भने ।

मदिरा निषेधित क्षेत्र

मदिराको जथाभावी सेवन तथा बिक्री वितरणका कारण झैझगडा र घरेलु हिंसा बढेपछि उनले नगरपालिकालाई खुला मदिरा निषेधित क्षेत्र घोषण गरेका छन् ।

नगर कार्यपालिकाको बैठकबाट  नगरपालिका क्षेत्रभरी अवैधरूपमा मदिरा उत्पादन, बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । मदिरा बिक्री वितरण गर्नेलाई ५ हजार र सेवन गर्नेलाई ५ सय जरिवाना तोकिएको छ । यस्तो निर्णयपछि पनि मदिरा बिक्री गर्ने ५ जनालाई कारबाही गरी ३० हजार राजश्व संकलन गरेको उनले बताए । उनकै अग्रसरतामा नगर क्षेत्रभित्र अनुगमन गरी अवैध मदिरा नष्ट समेत गरिएको छ ।

भाडाको गाडी सुविधा नलिने घोषणा

भंगाहा नगरपालिकासँग आफ्नै गाडी छैन । आफ्नै गाडी नभएपछि उनी भाडामा गाडी लिएर चढ्दै आएका थिए । भाडा, इन्धन र मर्मतका लागि ३ महिनाको अवधिमै करीब ५ लाख खर्च भयो । त्यसपछि उनले नगरपालिकालाई अतिरिक्त भार पर्न नदिन भाडाको गाडी नचढ्ने घोषणा गरेका छन् ।

मेयर साहले उक्त घोषणा सर्वसाधारणले उनको प्रशंसा गरे, अन्य नगरका मेयरहरूले भने असन्तुष्टि जनाएको उनले सुनाए । ‘त्यो घोषणा गरेपछि कतिपय मेयरसाबहरूले त्यसो नगर्दा नै ठीक हुन्थ्यो पनि भन्नुभयो, तर जनताबाट राम्रै प्रशंसा पाएको छु,’ उनले भने ।

गत मंसिरमै नगरको बजेट र नीति तथा कार्यक्रम पारित गरेर विकासको कार्यक्रम अघि बढाएका साह देशकै उत्कृष्ट मेयर बन्ने सपना रहेको बताउँछन् । ‘देशकै उत्कृष्ट मेयरको रूपमा चिनिने लक्ष्य छ,’ उनले भने, ‘त्यति नभए पनि कम्तिमा प्रदेश २ को उत्कृष्ट मेयर बन्ने मेरो लक्ष्य हो ।’

लाेकान्तरबाट