काठमाडौं/मन्त्रालयका कर्मचारीहरुलाई खानेपानी मन्त्री विना मगरले तलव खाएपछि जनताको सेवामा समर्पित हुन आव्हान गरेकी छन् ।

जनताको सेवामा अबरोध पुर्‍याउने हरेक अप्ठ्यारा तोडिनुपर्ने भन्दै मन्त्री मगरले कर्मचारीहरु जनताको सेवामा केन्दि्रत हुनुपर्ने बताएकी हुन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताका अपेक्षाहरु पूरा गर्ने बताइन् । ‘देशले अहिले विगतको भन्दा फरक भूमिका मागेको छ ।

सिस्टम, पद्दति, अनुहार त्यही होलान्, तर हाम्रो भूमिका फरक हुनुपर्छ,’ मन्त्री मगरले भनिन्,’हामीले नयाँ ढंगले प्रस्तुत हुन तयार हुनुपर्‍यो । सरकार र हाम्रो मन्त्रालयप्रति जनताले गरेका अपेक्षा हरहालतमा पूरा गर्नुपर्‍यो ।’

जनताको मौलिक अधिकारको रुपमा रहेको स्वच्छ खानेपानीको व्यवस्थापनका लागि मन्त्रालयको टिमले सामुहिक रुपमा लाग्नुपर्ने उनको भनाइ छ । विकसित र समृद्ध नेपालको पहिलो आधार खानेपानी र सरसफाइ हो ।

यसको जिम्मेवारी हामीले लिएका छौं,’ उनले भनिन्, ‘अहिले हरेक जनताले हाम्रो मन्त्रालयलाई, तपाईंहरुलाई, मलाई हेरिरहेका छन्, मौलिक अधिकार सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न हामीमा तेर्सिएको छ ।’

मन्त्रालयका कामकारवाही सञ्चालनका क्रममा आउने हरेक समस्यालाई सहजिकरण गर्न आफू प्रतिवद्ध रहेको मन्त्री मगरले बताइन् । ‘अहिलेको सरकार हिजोको जस्तो सरकार होइन, जनताको म्यान्डेड प्राप्त सरकार हो । यही अनुसार जनताले अपेक्षा गरेका छन् ।’ उनले भनिन् ।

खानेपानी मन्त्रालयले खानेपानी समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने मन्त्री मगरको भनाइ छ। कार्यक्रमकै अवसरमा मन्त्री मगरले ललितपुरको भैसेपाटीस्थित बोर्डको नवनिर्मित भवनको उद्घाटन समेत गरेकी छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य, खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसी लगायतको उपस्थिति थियो ।