धरान । धरान उपमहानगरपालिका– ६ पानबारीको सेहरा खोला र सेउतीपुलकोबीच जंगलमा हरिणको मासुसहित स्कुटी बरामद भएको छ । मंगलबार दिउँसो ३ बजे सिकारीले छाडेको १ सय केजी हरिणको मासुसहित प्रहरीले को १५ प ५८८७ नम्बरको एक स्कुटी बरामद गरेको हो ।

जंगलमा हरिण मारेर बोरामा पोकापारी स्कुटीमा लैजानेक्रममा प्रहरीलाई देखेपछि सिकारीहरु जंगलभित्र भागेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बरामद गरिएको मासु थप अनुसन्धानका लागि धरानको तीनकुनेस्थित इलाका वन कार्यालयमा बुझाएको बताए ।

उनले चोरी सिकारीमा संलग्नहरुको खोजी कार्य भैरहेको बताए । मासुसहित बरामद स्कुटरको नम्बरबाट हरिण सिकारी पक्राउ गर्न यातायात विभागमा सम्पर्क गरिरहेको उनले बताए ।