कथा:  तिमी सोच्दै छौ होला होइन । मैले तिमीलाई सम्झेको छैन । त्यही भएर कल गरेको छैन । मेरो दिनचार्यमा तिम्रा सम्झना पखार्ल बनेर खडा हुन्छन् । म मेरो काम, पढाइको सट्टा तिम्रो लवज, उपस्थिति, कल, म्यासेज, पर्खिरहन्छु । तर तीन हुँदा पनि तिमी उही चिसोपन देखाइरहेको छौ होइन । प्लिज मलार्ई बोलाऊ । मसँग कुरा गर । सधैं मैले हार्दै आएको छु । यो पालि  तिमी हार ।

तिमीले मलार्ई मन पराएको कुरा कलेजभरी हल्ला थियो । तिम्रो बोलीको अप्ठ्यारोपन र हराइको दृष्टिकोणबाट मैले पनि अनुमान गरेको थिएँ, तिमीले मलार्ई मन पराएको हुन सक्छौ । तिम्रो मिल्ने साथी, मेरो चाहिँ  चिनजानको साथी आस्माले सबको अगाडि तिमीले मलार्ई मन पराएको कुरा बताई । तिमी भने मौन बस्यौ । मलाई तिम्रो मौनताले पिरोल्यो । त्यसैले मैले सबको अघि भनेको थिएँ तिम्रो प्रश्न जे आए पनि मेरो सहमति हुनेछ । नभन्दै तिमीले बेलुका पर्पोज राख्यौ । उत्तर त मैले दिउँसो नै दिएको थिएँ । म दिनानुदिन तिम्रो मायामा पग्लिरहेको थिएँ । तिम्रो मन पर्ने खाना, ठाउँ र किताब मेरो मन पर्ने लिस्टमा थप भएका थिए । अनि म उत्तिकै त्रसित बनिरहेको थिएँ, तिम्रो कम बोल्ने र सबै कुरा नखोल्ने बानी देखि । साथीहरू भन्थे, ट्यालेन्ट अर्थात तीक्ष्ण बुद्धिका मान्छेहरू अलि रुखा हुन्छन् । म तिम्रो रूखोपनलाई बुझ्ने प्रयास गर्दै थिएँ । साथीहरूले मेरो उपनाम राख्न भ्याएछन । तिमीले भनेको मान्ने, तिम्रो सब काम गर्ने भएकाले  इजिगोइङ गर्ल भनेर । कल, म्यासेज प्रायः मै गर्थे । बिदाको दिन घुम्न जाने योजना मै बनाउँथें । तिम्रा लागि कलेजका क्लास छोडिदिन्थें । प्रत्येक झगडा पछि मै कल गर्थें । तिम्रा लागि सबै गर्न तयार थिएँ र छु । अघिपछि झगडा हुँदा एक दिनभन्दा लम्बिदैन्थ्यो किनकि म हारिदिन्थे । तिम्रो पहिलो रोजाई पढाइ हो, मैले बुझेको छु । फेरि तिमी किन मेरो पहिलो रोजाई तिमी हौ भनेर बुझ्न सक्दैनौं ? मैले तिमीलाई हदभन्दा बढी सम्झेको छु । म तिमीलाई बोलाउन चाहन्छु । म तिम्रो हात समातेर हिँड्न चाहन्छु । म तिमीसँग आँखा जुधाएर हेर्न चाहन्छु । म तिमीलाई यी चार दिनका गतिविधि सुनाउन चाहन्छु । तर म तिमीलाई बोलाउन सक्दिन । यो पाली मलाई हार्न मन छैन । मलाई इजिगोइङ गर्ल बन्न मन छैन । म तिमीलाई मेरो महत्व बुझाउन चाहन्छु । म पनि मायाको खिचातानीमा भाग लिन चाहन्छु । समताले सम्झाएकी थिई । मैले कुनै हालतमा हार्नु हुँदैन भनेर । पाँच दिन मेरा लागि सजाय बनेको छ । म तिम्रो एक झलक हेर्न चाहन्थे । उफ  हाम्रो नजर जुध्यो ! मेरो दिमाग मलार्ई अन्त हेर्न सुझाव दिँदै थियो । नजर हट्न मानेनन्  । मेरो आँखा भरिएर आयो । तिमी मतिर हाँस्दै आयौ र अँगालो मार्यौ । मेरा गुनासो, रिस र प्रतिशोध  सब गायब भए । हार कसको भयो, म जान्दिन । मेरो कठिन परीक्षण काल भने सिद्धियो । म हाम्रो मायामा पखेटा हाल्न चाहन्छु । ट्रपिकल रेन फोरिस्टमा गएर रुझ्न चाहन्छु । टुन्ड्रा, बोरियलको फन्को मार्न चाहन्छु । तर, तिम्रो गति सीमित छ । त्यसैले मैले रोकिनुपर्छ । समता मेरो मायालाई पागलपन भनी परिभाषित गर्छे । उसलाई के थाहा संसारमा मायाको मापन पागलपनले मात्र गर्न सकिन्छ भनेर । तिमीले विरलै भन्ने शब्द त्यही भएर तिमी मन पर्छ भन्दा मेरो मुटु काँप्छ । उसो त क्लासमा तिम्रो ध्यान पढाइमा मात्र हुन्छ, कहिलेकाहीँ हाम्रो आँखा एक हुँदा मेरो मुस्कान तेजिलो बन्छ । अरुलाई सामान्य लाग्ने तिम्रा बानीहरू मेरो लागि मायामा पर्नुको कारण हुन । तिमी पढाइमा मस्त हुँदा म कल्पनामा मस्त हुन्छु ।  कल्पनामा म तिमीलाई श्रीमान भनि बोलाउछु । हाम्रा सानी छोरी तिम्रो हात समातेर हिँड्छे । समता मेरो ध्यान भङ्ग गर्छे । क्लासमा ध्यान दिने भनी सुझाई दिन्छे । यस्तै बेला मलाई ऊ मन पर्दिनँ । म बाह्र कक्षाको अन्तिम परीक्षापछिको समय रोकियोस भन्ने चाहन्थे । समय  झनझन छिटो चल्यो र तिमी घर जाने दिन आयो । आजकल तिम्रो मेरो घर एउटा ठाउँमा हुनुपथ्र्र्याे भनी गुनासो गरिरहन्छु । यदि तिम्रो मेरो घर एउटा ठाउँमा भएको भए, अझ छिमेकी भएको भए, म तिमीसँग डन्डिबियो खेल्थे हुँला । म तिम्रो बाल्य सखी बन्थे हुँला । तिम्रै पछि लागेर हिँड्थे हुँला । तिम्रो कम बोल्ने बानी फेर्थे हुँला । तिमी आफ्नो घर गयौ । मैले तिमीलाई कलङ्की छोड्न जाँदा, रुन्चे अनुहार लाउँदा तिमी अगिपछि जस्तै चुपचाप थियौ । गाडी गुड्न लाग्दा बल्ल तिमी बोल्यौ । ‘भेटिएपछि छुटिन्छ र छुटिएपछि भेटिन्छ ।’ मैले सुनिरहेको कुरा थियो ।  तिमीले भन्दा यी शब्दहरू मेरै लागि बनेका हुन भन्ने लाग्यो । तिमी घरमा रमायौ । मेरा कलहरू बेवास्ता गर्न थाल्यौ । तिम्रो फोन कहिले बाबाले उठाउनुहुन्थ्यो, कहिले ममीले उठाउनुहुन्थ्यो । फेसबुकमा पनि तिमी बिरलै भेटिन्थ्यौ । पटकांै कल गर्दा पनि तिम्रो फोन नउठ्दा म आतिन्छु । म्यासेजको उत्तरको पर्खाइमा म रात गुजार्छु । तिमीलाई सम्झेर रुँदा, तिमीले पनि यसैगरी रुन परोस भनी गाली गर्छु । अनि एक बिहान मैले मेरो मायालाई नियालें, मेरो पागलपनलाई जाँचे । आफू खतरा बाटोतर्फ हिँडेको पाएँ । दिनभरीको तनावपछि मैले तिमीलाई मुक्त गरिदिने निर्णय लिएको छु । तिम्रो सम्झना र कल्पनाबाट मुक्त हुन गाह्रो छ । तिमी प्रतिको बेहद माया रोक्न गाह्रो छ । तर फेरि सम्बन्ध लम्ब्याउन पनि त गाह्रो छ । किनकि हाम्रो मायामा सन्तुलन छैन । मैले निर्णय लिएको एक दिन हुँदा पनि मैले तिमीलाई कल गर्न सकिरहेको थिइनँ । तिम्रो कल आयो । तिम्रो स्वर सुन्दा म भावविह्वल बन्छु । दुई हप्तादेखि म तिम्रो कल कुरिरहेको थिएँ  । मैले निर्णय लिएको कुरा भुलें । बरु मनको कुरा भन्न थाल्छु । ‘साथीहरूले भनेजस्तै तिम्रा लागि पनि म इजिगोइङ गर्ल भएँ होइन । तिमीले मप्रति गरेको व्यवहार तिमीमा पनि लागू होस् भन्ने सोच्छु । फेरि तिमीलाई पीडा हुन्छ भनी फिर्ता लिन्छु । म कति मूर्ख छु । म किन तिमीलाई यति माया गर्छु ? म ब्रेक अप दिन चाहन्छु । अनि साथीहरूलाई सुनाउन चाहन्छु । तिमीले होइन, मैले तिमीलाई छाडिदिएको भनेर । फेरि मेरा कमजोर भावना ब्रेक अप दिन मान्दैन । बरु उल्टै झन् बढी माया गर्न पुग्छु । त्यसैले तिमी आउ । रिजल्ट पनि त आउन लाग्यो ।’ तिमीले त्यसै आलटाल गरेर फोन राख्यौ । एकछिन पछि तिम्रो म्यासेज आयो । आँटिलो बनेर ब्रेकअप देऊ भनेर । तिमीले अझ थपेका रहेछौ हाम्रो गुण र बानी मात्र फरक परेको हो रे । मेरो तड्पाइ देखेर तिमीले ब्रेकअपको सुझाव दिएको रे । कति हास्यास्पद कुरा ! म मेरो तड्पाइको अन्त्य लागि तिम्रो साथ माग्दै थिएँ । तिमीले विछोडको सुझाव दियौ । त्यो माया के माया जहाँ माया गर्छु भनेर भनिदैन । त्यो सम्बन्ध के सम्बन्ध जहाँ एक अर्काको तड्पाइ बुझिँदैन । मैले यो कुरा राम्ररी बुझेको छु । अझ पनि तिमीलाई माया गर्छु भन्नु मेरा पूर्वाग्रह मात्र हो । म यो पनि जान्छु  । तर पनि तिम्रा सम्झनाहरूमा डुबिरहन्छु । मैले गीत, फिल्म  सुन्न र हेर्न छाडिदिएको छु । यो उमेरमा यस्तो वैरागी बन्न मिल्छ र ? म आफैलाई प्रश्न गर्न पुग्छु । उत्तर त मैले चाहेको होइन । त्यसैले प्रश्नको थाँती लाउछु । समतालाई हाम्रो विछोडले चयन मिल्यो रे । सधैं तड्पिनुभन्दा बरु कहानी खत्तम गर्नु ठीक हो रे । पीडा भए पनि म तिमीलाई माया गरिरहन चाहन्छु भन्दा समता रिसाउँछे भनेर म चुपचाप बस्छु । साँच्चिकै भन्दा म तिमीलाई भुल्न चाहन्न । एकहोरो भए पनि तिमीलाई माया गरिरहन चाहन्छु । संसारको पागलप्रेमीमध्येको एक बन्न चाहन्छु । तर यो सोच विस्तारै समयसँगै भासिदै गयो । अनि एक दिन मेरो मनमा यी विचार खेले । मैले तिमीलाई माया गर्न डराइन । माया गरेको कुरा भन्न लजाइन । तिमीलाई सम्झेको कुरा गर्न छुटाइन् । मेरो पागलपन कति छ भनेर भन्न र देखाउन धर्मराइन् । मैले तिमीलाई शत प्रतिशत माया गरें । म तिमीप्रति  बफादारी, आज्ञाकारी बनिरहे । मेरो उपनाम अनुसारको काम गरिरहे । मैले तिमीप्रति गरेको व्यवहारमा ग्लानि छैन । अनि फेरि म किन तड्पिने ? सकारात्मक र नकरात्मक विचारहरू आउँदै जाँदै गरें । भावना र सम्झना भनेको एकछिनमा तह लाग्ने कुरा होइन  रहेछ । तिम्रो यादहरू विस्तारै हट्दै थियो । समता र मैले नयाँ कलेजमा ब्याचलरको पढाइ सुरु गर्यौ । अहिले भने मैले पढाइलाई प्राथमिकता दिने लक्ष्य लिएको छु । कलेजको सुरुवातको एक हप्तापछि तिमी हाम्रै कलेज आएको हल्ला आयो । मलाई भने तिमीलाई भेट्न मन छैन । तिमी भेटियौ । मेरो साथमा अरू साथी पनि थिएँ । म तिमीसँग सकेसम्म बोल्न चाहन्नथे । तिमीले मलाई दयनीय आँखाले हेर्दै, सानो स्वर पार्दै बोलाई । मलाई असह्य भयो । त्यसैले मैले साथीहरूलाई तिम्रो परिचय भू.पू. प्रेमी भनेर दिएँ । नभन्दै कलेजमा तिम्रो उपनाम भू.पू. प्रेमी रहन गएछ । म तिमीसँग नबोलेपछि, तिम्रो वास्ता नगरेपछि, तिमी मसँग माफी माग्न आयौ । मेरो प्रश्न माफि केका लागि भन्दा तिमी मुक भएर अडिरह्यौ । अनि मैले माफी दिइन । फेरि तिमी माफी माग्न आएनौं । तिम्रो नयाँ गर्लफ्रेन्ड बनेको हल्ला कलेजभरि चल्यो । ममा भने डाह बढ्यो । म रिसाएको देखेपछि, मैले माफी दिन नसकेको हेरेपछि तिमीले बुझ्नुपर्ने होइन र ? अझ पनि मैले तिमीलाई पूर्ण रूपमा भुल्न गर्न सकेको छैन भनेर । खैर तिमीले मलाई कहिल्यै बुझ्न सकेनौं र मैले कहिल्यै बुझाउन सकिनँ । विस्तारै तिम्रो नयाँ सम्बन्ध मलाई बानी पर्यो । तिम्रो उपनाम भू.पू. प्रेमीबाट नयाँ प्रेमीमा बदल भयो । मेरो पढाइप्रति लगाव गहिरिँदै गयो । पढाइ यति रोचक र रमाइलो हुँदो रहेछ, मैले बल्ल बुझेँ । पहिले तिमीले जुन बेला पनि किताब लिएको देख्दा मलाई नौटङ्की लाग्थ्यो । तिमीले मसँग नबोल्नका लागि बाहना गरेको भनी लाग्थ्यो । बल्ल मैले पढाइको लत बुझें । बल्ल मैले तिमीलाई बुझ्न थालेको छु । तिमीसँग रहेको रिस र चित्त दुखाइले गर्दा मैले विगतलाई पल्टाएको थिइनँ । आजकल कहिलेकहीले विगतको परिक्रमा गर्छु । तिम्रो र मेरो सम्बन्धलाई केलाउँछु । लाइब्ररीमा पढ्दा खाजा खान भुलेँछु । बाहिर निस्केर हेर्दा साँझ परेको रहेछ । म अलमलमा पर्दै थिएँ, खाजा खाउँ वा घर जाउँ भनेर । खै कताबाट हो तिमी आइपुग्यौ । तिमी दोधार गर्दै थियौ । म तिमीलाई हेरी हाँस्छु । तिमी बोल्न आयौ । तिमीले भर्खर लिएको बाइकमा घर लगिदिने प्रस्ताव राख्यांै । मैले सहमति जनाएँ । फेरि तिमीले खाजा खाने प्रस्ताव राख्यौँ । म चिया पिउँछु । तिमी चुरोट सल्काउँछौं । तिम्रो नयाँ बानी सुरु भएछ चुरोट खानी । म तिम्रो नयाँ गर्लफ्रेन्ड बारे चासो राख्छु । तिमी खासै खुल्दैनौ । मेरो पढाइको नशा बारे सुनाउँछु । गफगाफमा हाम्रो पुरानो सम्बन्ध निस्कियो । तिमीले मेरो भावना अहिले आएर बुझेको भनी चुरोट निभायौं । मैले त्यतिबेला देखाएको  मुख्र्याइँपनलाई स्वीकार्छु । एकअर्काप्रतिको भावना पोखेपछि हामीमा अप्ठ्यारोपन देखा पर्दछ । म मोबाइल खेलाउँदै खाजा खान थाल्छु । तिमीले उठेर हात बढाउँदै भन्छौ– हेल्लो, म राकेश । म हात मिलाउँदै भन्छु– म सान्निध्या । ओ तिमी राकेश अर्थात भू.पू. प्रेमी ! तिमी हाँस्दै भन्छौ, ‘होइन, राकेश अर्थात नयाँ प्रेमी ।’ तिम्रो फेरि आवाज आउँछ । आजबाट हामी नयाँ साथी भयौँ । म तिम्रो चिनजानको साथी त बन्न सकूलाँ । तर मिल्ने साथी बन्न सक्दिनँ । म आफ्नो राय राख्छु । तिमी मुन्टो हल्लाएर सहमति जनाउँछौ । तिमी अनुहार गम्भीर पार्दै भन्छौ । माया भन्ने के होला ? तिमीले राहतका लागि प्रश्न गरेको हौ या शङ्का निवारणका लागि गरेको हौं, त्यो म जान्ने कोसिस गर्दिनँ । तर मैले हाम्रो सम्बन्धबाट बुझेको कुरा के हो भने– माया भनेको पागलपन होइन रहेछ ।