काठमाडौं/ दुई वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० परिवर्तन भएका छन् । मेगा र माछापुच्छ्रे बैंकमा नयाँ अनुहारले सीईओको जिम्मेवारी पाएका हुन् । मेगा बैंकको सीईओमा अनुपमा खुँजेली नियुक्त भएकी छन् । खुँजेली मेगाको मात्रै नभएर वाणिज्य बैंकहरुमै सीईओको जिम्मेवारी पाउने पहिलो महिला भएकी छन् ।

मेगा बैंक सञ्चालक समितिले खुँजेलीलाई सीईओ नियुक्त गरेको जनाएको छ । बैंकका अनुसार, खुँजेलीको कार्यकाल २ वैशाखदेखि शुरु हुनेछ । अनिल केशरी शाहले सीईओको जिम्मेवारीबाट राजीनामा दिएपछि मेगाले २३ मंसिरदेखि लागू हुनेगरी खुँजेलीलाई कामु सीईओको जिम्मेवारी दिएको थियो । कामु सीईओको जिम्मेवारी सम्हालेको केही महिनापछि बैंक सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिएको हो ।

उता, माछापुच्छ्रे बैंकले पनि नयाँ सीईओ पाएको छ । २८ चैतमा बसेको बैंक सञ्चालक समिति बैठकले सुमन शर्मालाई सीईओमा नियुक्त गरेको हो । एसबीआई बैंकबाट बैंकिङ करिअर शुरु गरेका शर्मासँग २१ वर्ष लामो अनुभव छ । शर्माले नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आईएमई र माछापुच्छ्रे बैंकमा काम गरिसकेका छन् । नेदरल्यान्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्मा भौतिकशास्त्र र अर्थशास्त्रमा पनि स्नातकोत्तर हुन् ।