करोडौं फेसबुक प्रयोगकर्ताहरूको डाटासँग छेडछाड गरेको आरोपको सामना गरिरहेको फेसबुकका प्रमुख मार्क जुरकरबर्गले अमेरिकी सिनेटमा बयान दिएका छन्।

जुकरबर्गले सांसदहरूका प्रश्नमा आफूले गल्ती गरेको स्वीकार गरेका छन्। उनले राजनीतिक उद्येश्यका लागि फेसबुक प्रयोगकर्ताका डाटा दुरुपयोग भएकोमा गल्ती स्वीकार गरेका हुन्। त्यस्तो गलत काम रोक्न आफूले पर्याप्त कदम उठाउन नसकेको बताएका छन्। पछिल्लो समय कम्पनीमा ठूलो परिवर्तन ल्याइएको पनि जुकरबर्गले जानकारी दिएका छन्।

उनले कुन हदसम्म फेसबुक डाटाको दुरुपयोग भयो भन्नेबारे फेसबुकले खोजबिन गर्ने बताएका छन्। जुकरबर्गले रुसले गरिरहेको फेसबुक प्रयोगकर्ताका डाटा छेडछाडको कम्पनीले लगातार सामना गरिरहनुपरेको बताएका छन्। रुसले गरिरहेको फेसबुक प्रयोगकर्ताका डाटामा छेडछाड र त्यसको समानाको तुलना हतियारको होडबाजीसँग गरेका छन्। उनले भने, 'यो हतियारको दौड हो। जुन लगातार बढिरहेको छ।' जुकरबर्गले केही पहिले भएको क्याम्ब्रिज एनालिटिकाले गरेको फेसबुक डाटाको दुरुपयोगबारे जवाफ दिँदै आएका छन्।

उनले आफ्नो जवाफमा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष अनुसन्धान काउन्सिलमा पनि फेसबुकका अधिकारीहरूसँग पुछताछ गरेका छन्। जुकरबर्गले भने आफूसँग उक्त काउन्सिलले पुछताछ नगरेको बताएका छन्। उनले आफ्ना अधिकारीहरूसँग गरिएको सोधपुछ गोप्य भएकाले त्यसबारे कुनै जानकारी नदिने पनि बताएका छन्।