बिर्तामोड/ वैदेशिक रोजगार व्यवसायी प्रतिनिधि एजेन्ट शाखा सङ्घको झापा शाखाले वैदेशिक रोजगारमा जाने कामदारबाट पैसा नलिने घोषणा गरेको छ । सङ्घले व्यवसायलाई मर्यादित र व्यवस्थित गर्नका लागि राज्यले तोकेको परिधिमा रहेर व्यवसाय सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

सङ्घको तदर्थ समितिका अध्यक्ष धनबहादुर पन्धाकले भने, ‘नियमविपरीत व्यवसाय गर्नेलाई कानूनको दायरामा ल्याउन राज्यलाई सहयोग गर्छौं ।’ मेनपावरका शाखा र एजेन्टको कार्यालयले झापामा पासपोर्ट लिने रकम सङ्कलन गर्ने जस्ता राज्यले प्रतिबन्ध लगाएका कारोबार सञ्चालन गरिरहेका छन् । उनले कानूनले तोकेभन्दा बाहिर नगई व्यवसायलाई मर्यादित बनाउने बताएका छन् । उनले झापामा सञ्चालित मेनपावरका एक सय ६५ शाखा तथा एजेन्टमा २० प्रतिशतमात्र वैधानिक रहेको बताए । झापाका ८० वटा मेनपावरका एजेन्ट कार्यालयलाई वैदेशिक रोजगार विभागले खारेज गरिसकेको जनाए ।

झापाका व्यवसायीको टोलीले चैत १३ गते श्रम तथा सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पाँचबुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै मोफसलमा रहेका मेनपावरका एजेन्ट प्रतिनिधिहरूलाई व्यवस्थित गर्ने विषयमा छलफल गरेको थियो । पन्धाकले मन्त्री विष्टसँग स्वतन्त्र एजेन्टको व्यवस्था गर्न समेत माग गरेको जानकारी दिए । मुलुक सङ्घीयतामा गइसकेको परिप्रेक्ष्यमा वैदेशिक सोजगारसँग सम्बन्धित निकायहरू पनि विकेन्द्रित हुनुपर्ने सङ्घको धारणा छ । बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित मेनपावर व्यवसायीले अवैधानिकरूपमा सञ्चालित कार्यालय राज्यले खारेज गरेकाले त्यस्ता कार्यालय बन्द गर्नसमेत आग्रह गरे ।

झापामा ठूलै सङ्ख्यामा कार्यालय खारेज भएपछि व्यवसायीले आफ्नो हक–हितका लागि पुनः वैदेशिक रोजगार व्यवसायी प्रतिनिधि शाखा सङ्घ झापाको गठन गरेका छन् । सङ्घका अध्यक्षमा धनबहादुर पन्धाक, उपाध्यक्षमा शिव कोइराला, चक्र शेर्मा र अजय देव छन् । सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः चन्द्रप्रसाद पाठक, कर्णबहादुर पौडेल र अञ्जु लामिछाने चयन भएका छन् । यस्तै सदस्यहरूमा थुमप्रसाद थापा, ओमप्रकाश भट्टराई, दुर्गादेवी लिम्बू र भीमप्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सङ्घले भानु शिवाकोटीकोे संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । समितिका सदस्यहरूमा शेखर खतिवडा, दिनेश राना मगर, राम अधिकारी र कृष्ण साम्पाङ राई छन् । गोपालराज कडरियाको संयोजकत्वमा गठित आर्थिक समितिका सदस्यमा नवीन रिमाल छन् ।