मुम्बई/ बलिउड नायिका इलियाना डीक्रुज व्यक्तिगत जीवनमा सधैं सुरक्षाकर्मीको साथ हुन्छिन्। फोटोग्राफर एन्ड्रीउ निबोनसँग डेटिङमा रहेकी उनले निबोनलाई सामाजिक सञ्जालमा ‘हबी’ भनेर पोष्ट गर्छिन्। उनी आफ्नो जीवनको निजी कुरा गसिपको चासोको विषय नबनोस् भन्ने चाहन्छिन्।

निजी जीवन गसिपको विषयबस्तु नबन्दा त्यसलाई भगवानको आशिर्वाद मान्छिन्। ‘गसिप स्तम्भमा म आफुलाई भाडाकुडाको रुपमा राख्न चाहन्न। कुनै पत्रिकाको गसिप विभागमा मेरो गसिप आओस् भन्ने चाहना छैन। मेरो निजी जिन्दगी नै रमाइलो छ। गसिपमा आएर रमाउन चाहन्नँ,’उनले भनेकी छन्।

३० वर्षीया इलियानाले फिल्म ‘बर्फी’बाट बलिउडको यात्रा शुरु गरेकी थिइन्। उनी पछिल्लो पटक अजय देवगनका साथ फिल्म ‘रेड’मा देखिएकी छन्। पछिल्लो पटक फिल्ममा महिला पात्रहरु ग्ल्यामरको कारण नभई गम्भीर किसिमका फिल्ममा अभिनय गरेका कारण ‘हिरो’ बन्ने गरेको इलियानाको बुझाई छ।